काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाएको छ ।
मंगलबार बिहान सिंहदरबारमा बसेकाे संसदीय सुनुवाइ समितिकाे पहिलाे बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिन आह्वान गरेको हाे ।
समितिका ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् पशुपतिशमशेर जबराकाे अध्यक्षतामा बसेको बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरीका लागि १० दिनको समय दिने निर्णय गरेकाे छ । कार्की विरुद्ध लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिनेछ ।
वैशाख २५ गते संवैधानिक परिषदले उनलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।प्रधानन्यायाधीशको पद करिब १५ महिनादेखि रिक्त छ । कार्कीले नै कामु प्रधानन्यायाधीशका रुपमा साे जिम्मेवारी सम्हाल्दै आउनुभएकाे छ ।
समितिकाे पहिलाे बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि सहभागी हुनुभएकाे थियाे ।
