काठमाडौं । वाग्मती प्रदेश सभा सदस्य आनन्दकुमार श्रेष्ठले वाग्मती प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बेलामा भएको त्रुटि प्रदेश सभाकै लागि लज्जाको विषय भएको बताउनुभएको छ ।
बिहीबार बाग्मती प्रदेश सभा बैठकमा बोल्दै श्रेष्ठले सो कार्यमा त्रुटि गर्ने सरकार, मुख्यमन्त्री कार्यालय र प्रदेश सभा सचिवालयको आलोचना गर्नुभयो । सो कार्यले प्रदेश सभा सदस्यलाई समेत लज्जित बनाएको श्रेष्ठले बताउनुभयो ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशका मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई दिनुभएको नीति तथा कार्यक्रमको फाइल रित्तो भएपछि प्रदेश प्रमुख अप्ठेरोमा पर्नुभएको थियो । उहाँले पछि मुख्यमन्त्रीबाट नीति तथा कार्यक्रमको प्रति लिएर वाचन गर्नुभएको थियो । सो कार्य गम्भीर लापरबाही र लज्जाको विषय भएको श्रेष्ठले बताउनुभयो ।
बैठकमा बोल्दै श्रेष्ठले भावनात्मक कुरालाई उछालेर त्यसबाट पर्ने गम्भीर संकटलाई छोप्ने प्रयास गर्दै नागरिकता विधेयक प्रमाणीकरण गरिएको बताउनुभयो । नारिकता विधेयक असंवैधानिक हिसाबले प्रमाणीकरण भएको श्रेष्ठले दाबी गर्नुभयो । ‘जसरी नागरिकता विधेयक पारित गरिएको छ, त्यसले नागरिकताको राष्ट्रिय समस्यालाई समाधान गर्न सक्दैन, त्यसले अझ हाम्रो राष्ट्रियतालाई संकट तर्फ लैजाने छ’, उहाँले भन्नुभयो ।
प्रदेशको नीति तथा कार्यक्रम संविधानले देखाएको बाटोमा अघि बढ्न नसकेको उहाँले बताउनुभयो । सरकारको नीति तथा कार्यक्रम समाजवादको बाटो तर्फ उन्मुख हुन नसकेको भन्दै उहाँले आलोचना गर्नुभयो । वर्गीय, सामाजिक, रूपान्तरण र संविधानको हिसाबले बजेट सही दिशा तर्फ जाने खालको नभएको उहाँको भनाइ छन् ।
गठबन्धनले नीति तथा कार्यक्रम बनाउने विषयमा प्रतिपक्षसँग कुनै छलफल नगरेको भन्दै उहाँले आलोचना गर्नुभयो । अस्थिर राजनीति अवस्थामा बनेको अहिलेको गठबन्धन निरन्तर जान्छ भन्ने नसोच्न उहाँले चेतावनी दिनुभयो । गठबन्धन कुनै पनि बेला बदलिन सक्ने कुरा नबिर्सन श्रेष्ठले आग्रह गर्नुभयो ।
आज व्यवस्था कठिन र चुनौतीपूर्ण प्रश्न उठिरहेका कुरालाई ख्याल गर्न सत्ता सञ्चालकलाई श्रेष्ठले आग्रह गर्नुभयो । प्रवृत्तिको पुनरावृत्ति होइन रूपान्तरण र परिवर्तन हुनु पर्नेमा श्रेष्ठले जोड दिनुभयो ।
साना साना योजना बनाएर अघि बढ्दा सरकार दिसाहीन भएको उहाँले बताउनुभयो । अहिलेको आर्थिक समस्या समाधान गर्न राज्यको नीति तथा कार्यक्रम सक्षम नरहेको उहाँले प्रष्ट पार्नुभयो ।
