काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निर्माणाधीन संघीय संसद् भवन निर्माणको काम निर्धारित समयमै सक्न निर्देशन दिनुभएको छ ।
सिंहदरबारमा निर्माणाधीन संसद् भवनको बिहीबार मध्यान्ह स्थलगत निरीक्षण गर्दै सभामुख घिमिरेले निर्माणको गति निकै सुस्त भएकाे भन्दै गति बढाउन निर्देशन दिनुभयाे ।
लक्ष्य अनुसार निर्माणको काम हुन नसकेको भन्दै उहाँले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभयाे । निर्माणकाे काम सुस्त हुँदा थप भार पर्ने भन्दै सभामुख घिमिरेले निर्माणकाे गति बढाउन र त्रुटिरहित काम गर्न पनि निर्देशन दिएकाे बताउनुभयाे ।
संसद् भवन निर्माणका क्रममा केही समस्या देखिए संसद् सचिवालय र आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । सिंहदरबारस्थित पुतली बगैंचा वरपरको १ सय ५१ रोपनी जग्गामा ८ वटा मुख्य भवनसहित १२ वटा अत्याधुनिक भवनको ६३ प्रतिशत काम सकिएको जानकारी निर्माण पक्षले दिएको सभामुख घिमिरेले बताउनुभयाे । संसद् भवन निर्माणको कामलाई कार्ययोजनाकै रुपमा फ्लोअप गर्ने पनि उहाँले बताउनुभयाे ।
सभामुखसँगै उपसभामुख इन्दिरा राना, सहरी विकासमन्त्री सीता गुरुङ, संसद् सचिवालयका कर्मचारी लगायत पनि निरीक्षणमा सहभागी हुनुभएकाे थियाे ।
