काठमाडौं । प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नारिकता नेपालको राजनीतिक समस्या भएको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभामा नागरिकताका विधेयक प्रमाणीकरणको विरोध जनाउने क्रममा बोल्दै परियारले नागरिकता समस्या समाधान गर्नु पर्ने भए पनि राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयक नागरिकता नपाएका नेपाली नागरिकलाई नागरिकता दिन भन्दा पनि अरू नै स्वार्थले केन्द्रित भएर ल्याइएको बताउनुभयो । नागरिकता दिने राज्यको दायित्व र नागरिकको अधिकार भए पनि अहिले संसद्मा छलफल नै नगरी जुन हिसाबबाट नागरिकता विधेयक प्रमाणीकरण गरिएको छ त्यो बेथितिको भारी राष्ट्रिय स्वतन्त्र पार्टीले नबोक्ने उहाँले बताउनुभयो ।
नागरिकताको विषय धेरै कुरासँग जोडिएको विषय भएकोले संवेदनशील हुन उहाँले आग्रह गर्नुभयो । ‘यो राजनीतिक विषय हो, यो नेपालको सुरक्षासँग जोडिएको विषय हो, यो मानवअधिकारसँग जोडिएको विषय हो, सँगसँगै यो भूराजनीतिकसँग जोडिएको विषय पनि हो’, उहाँले भन्नुभयो ।
नेपाली नागरिकलाई नागरिकता दिने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी जहाँ पनि संघर्ष गर्न तयार रहेको उहाँले प्रष्ट पार्नुभयो । तर अहिले जुन प्रक्रियाबाट विधेयक ल्याइएको छ, त्यसलाई भने टुलुटुलु हेरेर नबस्ने उहाँले चेतावनी दिनुभयो ।
