काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्ताेष परियारले गलत विधि र प्रक्रियाबाट नागरिकता विधेयक प्रमाणीकरण गरिएको भन्दै कडा आपत्ति जनाउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठक विराेध जनाउने क्रममा सभामुख देवराज घिमिरेले बाेल्न समय दिएपछि रास्वपा प्रमुख सचेतक परियारले नागरिकता नेपालको राजनीतिक समस्या र राष्ट्रिय सुरक्षासँग जाेडिएकाे विषय भएकाले यसलाई प्रक्रियासंगत रुपमा अघि बढाउन माग गर्नुभयाे ।
'आज जुन विधिबाट, जुन तरिकाबाट सरकारले जुन रवैयाले यो प्रस्तुत गरेको छ, यसले मधेशका ती तमाम नागरिकताबिहीन जनतालाई नागरिकता दिन होइन, अन्य कुनै स्वार्थले ल्याएको छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठम्याइ छ, हामी यसको घोर विरोध गर्दछौँ'- उहाँले भन्नुभयाे ।
नागरिकता समस्याकाे पीडा विशेषगरी मधेसी जनताले भाेग्नुपरेकाे प्रमुख सचेतक परियारले बताउनुभयाे । 'मधेशका मुसहर समुदायका धेरै विद्यार्थी स्कुल जान पाउँदैनन् राज्यले नागरिकता नदिएर, उनीहरुले पोषणभत्ता समेत पाएका छैनन्, बैंकमा खाता खोल्न सकेको छैन, राज्यले आफ्नो दायित्वबाट विमुख हुने, हिजो लामो समयसम्म राजनीति गरिरहेका राजनीतिक पार्टीहरु आफ्नो दायित्वबाट पर जाने अनि यो सार्वभौम संसदमा आएको यो बेथिति बिरुद्ध आएको राष्ट्रिय स्वतन्त्र पार्टीले यो कर्मको हामी भारी बोक्ने छैनौँ, हाम्रो यसमा समर्थन छैन, यो राजनीतिक विषय हो, नेपालको सुरक्षासँग जोडिएको विषय हो, यो मानव अधिकारसँग जोडिएको विषय हो, सँगसँगै भूराजनीतिसँग जोडिएको विषय पनि हो'- उहाँले भन्नुभयाे ।
सदन हुँदाहुँदै त्यसलाई छलेर ल्याइएकाे विधेयक स्वीकार्य नहुने भन्दै प्रमुख सचेतक परियारले यसलाई संशाेधन गर्न माग गर्नुभयाे । उहाँले भन्नुभयाे - 'यो गम्भीर विषयमा संसद्मा विशेष काम छ भनेर हामीलाई संसद्मा बोल्न दिइरहने अनि सरकार लुसुलुसु आफ्नो काम गरिरहने यो रवैयालाई अब राष्ट्रिय स्वतन्त्र पार्टीले स्वीकार्दैन, यसर्थ सरकारले रोकोस्, सरकारले यसलाई संशोधन गरोस् ।'
नेपाली नागरिकलाई नागरिकता दिलाउनका लागि रास्वपा संसद् र सडकमा संघर्ष गर्न तयार रहेको भन्दै परियारले यसरकारले यस प्रकारको विधि भने सुधार्नुपर्ने बताउनुभयाे । सरकार नसच्चिए रास्वपा टुलुटुलु हेरेर नबस्ने चेतावनी पनि उहाँले दिनुभयाे ।
