काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध गरेकाे छ ।
विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा दिएकाे राष्ट्रहित विपरीतकाे अभिव्यक्ति विरुद्ध एमालेले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेकाे हाे । यसअघि एमालेले प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गरेकाे थियाे ।
आइतबार राष्ट्रिय सभा बैठक सुरु हुनासाथ एमाले सांसद्ले उठेर विराेध जनाएका थिए । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद् सांसद भैरवसुन्दर श्रेष्ठलाई बाेल्न समय दिनुभयाे ।
निष्क्रिय र विवादास्पद विधेयक राष्ट्रपति रामचन्द्र पाैडेलले कीर्ते गरेर नागरिकता विधेयक प्रमाणीकरण गरेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । यस्ताे असंवैधानिक काम किन गरियाे भन्ने प्रश्नकाे जवाफ सदनलाई दिनुपर्ने सांसद् श्रेष्ठले बताउनुभयाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा राष्ट्रघाती अभिव्यक्ति दिएकाे भन्दै उहाँले यस विषयमा पनि सरकारकाे जवाफ आउनुपर्ने बताउनुभयाे । लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतको भूभाग बंगलादेशसँगको बाटो पाउने सर्तमा भारतलाई छोड्न तयार रहेको भनेर प्रधानमन्त्रीले दिएकाे अभिव्यक्ति राष्ट्रघाती रहेकाे सांसद् श्रेष्ठले बताउनुभयाे ।
यी विषयमा प्रधानमन्त्रीप्रचण्डले चित्त बुझ्दो जवाफ नदिएसम्म बैठक चल्न नदिइने चेतावनी उहाँले दिनुभयाे । एमालेकाे अवराेधपछि नियमित कार्यसूचीमा प्रवेशै नगरी अवरुद्ध भएको बैठक २९ मिनेटका लागि स्थगित गरिएको छ ।
