काठमाडाैं । नेपाली कांग्रेसका सांसद् प्रदीप पाडेलले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा त्रुटी भएको बताउनुभयो ।
आइतबार प्रतिनिधि सभा बैठक अवरुद्ध भएपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीका जिज्ञासाकाे जवाफ दिँदै सांसद् पाैडेलले नागरिकता विधेयक प्रमाणीकरणकाे पक्रिया गलत रहेकाे बताउनुभयाे ।
उहाँले राष्ट्रपति कार्यालयलमा निष्क्रिय रहेकाे विधेयकलाई संसद्मा ल्याएर छलफल गरेर त्यसले टुंग्याएकाे विषयमा मात्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने बताउनुभयाे ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्ले पठाएको विधेयक प्रमाणीकरण नगर्नु स्वभाविक नरहेपनि त्यही विधेयकलाई नै अहिले प्रक्रिया मिचेर प्रमाणीकरण गर्नु गलत रहेकाे सांसद् पाैडेलले बताउनुभयाे । 'प्रक्रिया पूरा नगरेकोमा मेरो पनि प्रश्न छ, पुरानो विधेयक नयाँ संसदले हुबहु स्वीकार गर्न सक्थ्यो, तर छलफल गराउनुपर्थ्यो'-उहाँले भन्नुभयाे ।
नागरिकता विधेयक भित्रको विषयस्तुमा भने एमालेले विरोध गर्नुको कुनै अर्थ नरहेको उहाँकाे दाबी छ ।
