काठमाडौं । आइतबार कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको प्रतिनिधि सभा बैठक सोमबार मात्र बस्ने भएको छ ।
आइतबार ११ बजे बस्ने कार्यसूची रहेको बैठक झण्डै डेढ घण्टा ढिलो गरी सुरु भएको थियो । बैठक सुरु हुने बित्तिकै राष्ट्रपतिले असंवैधानिक तरिकाले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा प्रतिपक्ष दलले बैठकमा अवरोध गरेका थिए ।
प्रतिपक्षी दलका सांसदको अवरोधका कारण एक घण्टाको लागि स्थगित भएको बैठक पुनः बस्दै नबसी सूचना टाँस गरेर सोमबार बिहान ११ बजेको लागि सारिएको छ । संसद् सचिवालयका सचिव पद्मप्रसाद पाण्डेले सूचना जारी बैठक सोमबार मात्र बस्ने जानकारी दिनुभएको छ ।
विशेष कारणले बैठक भोलिको लागि सारिएको सचिवालयले जानकारी दिएको छ । ‘आइतबार एक घण्टापछि बस्ने गरी स्थगित भएको प्रतिनिधि सभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक मिति २०८० साल जेठ २२ गते सोमबार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा लेखिएको छ ।
विपक्षी दलका सांसदले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको र प्रधानमन्त्रीले भारतमा गएर नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको क्षेत्रको भूमि भारतको अन्य भूमिसँग साट्न सकिने अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलका सांसदले प्रतिनिधि सभामा विरोध जनाएका थिए । नागरिकता विधेयक खारेज गरेर प्रधानमन्त्रीले माफी नमागेसम्म बैठक अघि नबढ्ने प्रतिपक्षी दलले बताएका छन् ।
