काठमाडाैं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले नागरिकता विधेयक प्रमाणीकरणकाे असंवैधानिक कदम सच्चिनुपर्ने बताउनुभएकाे छ ।
आइतबार प्रतिनिधि सभा बैठक अवरुद्ध भएपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीका जिज्ञासाकाे जवाफ दिँदै प्रमुख सचेतक गिरीले विधेयक प्रमाणीकरणमा राष्ट्रपति रामचन्द्र पाैडेलबाट भएकाे असंवैधानिक कदम सच्चिनुपर्ने बताउनुभयाे ।
नागरिकता जस्तो संवेदनशिल विषयमा संविधान विपरीत काम भएकाे भन्दै उहाँले राष्ट्रपतिले मन्त्रिपरिषद्को पत्रका आधारमा विधेयक प्रमाणीकरण गरेको बताएपनि त्यो संविधान अनुसार नरहेको बताउनुभयो । प्रमुख सचेतक गिरीले भन्नुभयाे - 'नागरिकता जस्ताे संवेदनशील विषयमा राष्ट्रपतिले संविधान विपरीत प्रमाणीकर गर्नुभयाे हामीले याे असंवैधानिक कदम सच्याउनुपर्छ त्रुटिपूर्ण छ भनेर हामीले भनिरहेका छाैं ।'
ताजा जनादेश प्राप्त संसद् आइसकेको अवस्थामा उक्त विधेयकलाई दर्ता गरेर प्रक्रियामार्फत नै अघि बढाउनुपर्ने एमालेको धारणा रहेको प्रमुख उहाँले जानकारी दिनुभयाे । संसद् चालु रहेकाे अवस्थामा मन्त्रिपरिषद्काे सिफारिसमा विधेयक प्रमाणीकरण गर्नु गलत रहेकाे भन्दै प्रमुख सचेतक गिरीले सार्वभाैमसत्ता सम्पन्न संसद्लाई छल्ने र संसद्काे अधिकार कुण्ठित गर्ने काम भएकाे बताउनुभयाे । 'हामी यसकाे विरुद्धमा छाैं, त्याे गलत निर्णय सच्चिनुपर्छ'- उहाँले भन्नुभयाे ।
नागरिकता विधेयकमा रहेको विषयवस्तुमा पनि एमालेको असहमति रहेको भन्दै प्रमुख सचेतक गिरीले विदेशी चेली नेपालीसँग बिवाह गर्दा तत्काल नागरिकता दिने प्रावधानले भविष्यमा ठूलो असर पर्ने बताउनुभयाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा गएका बेला भूमि साटासाट गर्न सकिने अभिव्यक्ति दिएकाे भन्दै प्रमुख सचेतक गिरीले आपत्ति जनाउनुभयाे । भूपरिवेष्ठित राष्ट्र नेपालले रुट पाउने कुरा अधिकारकाे कुरा भएकाे भन्दै उहाँले त्याे रुट दिएवापत हाम्राे भूमि दिन्छाैं भनेर देशकाे प्रधानमन्त्रीले भन्नु आपत्तिजनक रहेकाे बताउनुभयाे ।
