काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्ताैलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा गद्दारी गरेकाे बताउनुभएकाे छ ।
आइतबार प्रतिनिधि सभा बैठक अवरुद्धपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक बर्ताैलाले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा देशको सार्वभौमिकता, अखण्डता र जमिनमाथि धावा बोलेको बताउनुभयाे ।
स्वतन्त्र सार्वभाैम देशकाे प्रधानमन्त्रीलाई देश विरुद्ध बाेल्ने छुट नभएकाे उहाँले बताउनुभयाे । सचेतक बर्ताैलाले भन्नुभयाे - 'मुलुककाे जमिनकाबारे यसप्रकारले बाेल्ने अधिकार कसले दियाे ? नेपालकाे भूमि यति सस्ताे ? देशकाे प्रधानमन्त्री नांगाे भएर, मन्त्रीहरुलाई पनि शरणम गर्दै याे राष्ट्रकाे बेइज्जती बदनामी गरेर, नेपालकाे जमिनमाथि धावा बाेलेर आउनुभएकाे छ, उहाँले याे देशमाथि गद्दारी गर्नुभएकाे छ, राष्ट्रघात गर्नुभएकाे छ, जवाफले पुग्दैन, शीर झुकाएर माफी माग्नुपर्छ ।'
सत्ता स्वार्थका लागि प्रधानमन्त्री प्रचण्डले राष्ट्रहित विपरीतकाे अभिव्यक्ति दिएकाे बताउँदै उहाँले भन्नुभयाे - 'याे देशकाे भूमिकाे बारेमा सत्ताभरण गर्ने, सट्टापट्टा गर्ने, कालापानी लिपुलेक छाेड्छाैं भनेर याे देशकाे प्रधानमन्त्रीले भन्न मिल्छ ?'
प्रधानमन्त्रीलाई दाैरा सुरुवाल लगाएर पठाइएकाे भन्दै सचेतक बर्ताैलाले भारतमा गेरुवस्त्र लगाएर पूरै नंग्याइएकाे व्यंग्य गर्नुभयाे । काशीतिर जानुहुन्छ कि भन्ने शंकाबीच स्वदेश फर्किनुभएका प्रधानमन्त्रीले भारत भ्रमणकाे उपलब्धि भनेर १५ वटा मुर्रा भैंसी ल्याएकाे बताउनुभएकाे टिप्पणी समेत उहाँले गर्नुभयाे । १५ वटा मुर्ना भैंसीसँग कालापानी, लिपुलेक, लिम्पियाधुरा साट्ने अधिकार प्रधानमन्त्रीलाई नभएकाे बर्ताैलाले बताउनुभयाे ।
भारतीय प्रभुहरुलाई रिझाउनका लागि राष्ट्रघात हुनेगरी राष्ट्रपति रामचन्द्र पाैडेललाई दबाब दिएर असंवैधानिक हिसाबले नागरिकता विधेयक प्रमाणीकरण गर्न दबाब दिएकाे र त्यही काेशेली लिएर भारत गएकाे उहाँले बताउनुभयाे । सचेतक बर्ताैलाले भन्नुभयाे - 'प्लेन चढ्नुभन्दा अगाडि नागरिकता विधेयक असंवैधानिक हिसाबबाट यो देशलाई राष्ट्रघात हुनेगरी उहाँले राष्ट्रपतिलाई प्रमाणीकरण गर्न उक्साएर, प्रमाणीकरण गरेर कोशेली लिएर जानुभयो, एक हातमा सिन्दुर अर्को हातमा नागरिकता दिने गरी आएको छु महामहिम भन्न पुग्नुभयो. त्यसलाई उहाँले उपलब्धि ठान्नुभयो ।'
प्रधानमन्त्री प्रचण्ड राष्ट्रघात गरेर भारतसामु लम्पसार पर्नुभएकाे उहाँले बताउनुभयाे । सचेतक बर्ताैलाले भन्नुभयाे - 'यो देशका सीमाका विषयमा, लिपुलेक र कालापानीको विषय सट्टा भर्ने, कता-कताको जमिन लिने यो देशको प्रधानमन्त्रीलाई यो मुलुकको जमिनका बारेमा यस प्रकारले बोल्ने अधिकार कसले दियो ? उहाँलाई त्यो अधिकार छ ? दिल्लीका शासकहरूका सामु लम्पसार परेर नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी बंगलादेशको सीमाको बाटो लिनेगरी सट्टाफेरी गर्ने, यस प्रकारको अपारदर्शी उहाँले कैयौँ गतिविधि गरेर आउनुभएको छ, संसद्मार्फत सिंगो देशलाई उहाँले भन्नुपर्छ, अपारदर्शी काम गर्ने ?'
सशस्त्र युद्धका बेला ब्रामणहरुकाे हत्या गर्ने, टुप्पी काट्ने अनेकाैं खालका गतिविधि गर्ने प्रधानमन्त्रीले भारतसामु घुँडा टेकेकाे उहाँले बताउनुभयाे । प्रधानमन्त्रीले माफी नमागेसम्म र नागरिकता विधेयक प्रमाणीकरणकाे असंवैधानिक कदम नसच्याएसम्म सदन चल्न नदिइने बताउनुभयाे ।
