काठमाडाैं । नेपाल मजदुर किसान पार्टी (रास्वपा) का सांसद् प्रेम सुवालले राष्ट्रपति रामचन्द्र पाैडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने बताउनुभएकाे छ ।
आइतबार प्रतिनिधि सभा बैठक अवरुद्धपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् सुवालले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति र प्रधानमन्त्रीले जालसाझी गरेको बताउनुभयाे ।
निष्क्रिय रहेकाे विधेयक सदनमा ल्याएर छलफल गरेर पारित गर्नुपर्नेमा कीर्ते गरेर प्रमाणीकरण गर्नु राष्ट्रघात भएकाे उहाँले बताउनुभयाे । 'अघिल्लाे राष्ट्रपतिले राेकेकाे हुनाले संसद्मा ल्याएर छलफल गरेर पारित गरेपछि मात्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ, तर त्यसमा पहिलेकै राष्ट्रपति र सभामुखकाे नाम छ, अहिलेकाे सभामुख र राष्ट्रपति पनि फरक हुनुहुन्छ, यसरी प्रमाणीकरण हुनु असंवैधानिक छ, संसद्लाई छलेर प्रधानमन्त्रीले सिफारिस गरेअनुसार राष्ट्रपतिबाट भएकाे प्रमाणीकरण याे जालसाझी हाे'- सांसद् सुवालले भन्नुभयाे ।
नेपालका राष्ट्रपति र प्रधामन्त्रीले भारतीय एकाधिकार खाेजेकाे र भारतीय विस्तारवादकाे गाेटीचालका फसेकाे पुष्टि भएकाे उहाँले बताउनुभयाे । 'यदि यस्ताे हाे भने, प्रधानमन्त्री दाहाल र राष्ट्रपति दुवैले राजीनामा गर्नुपर्छ राजीनामा नगरेकाे खण्डमा संसद्ले प्रधानमन्त्री विरुद्ध अविश्वासकाे प्रस्ताव र राष्ट्रपति विरुद्ध महाभियाेगकाे प्रस्ताव ल्याउनुपर्छ, यसबाहेक अरु उपाय छैन, यहाँ देशघात भएकाे छ, जालसाझी भएकाे छ'- सुवालले भन्नुभयाे ।
सच्चा नेपाली नागरिकले नागरिकता पाउनुपर्ने र विदेशीले पाउन नहुने पक्षमा नेमकिपा रहेकाे उहाँले बताउनुभयाे ।
सिंहदरबार कब्जा गर्ने र नेपाली भूमि विरुद्ध अभिव्यक्ति दिने काम माओवादीले गरेकाे भन्दै सांसद् सुवालले आपत्ति जनाउनुभयाे । कालापानी र अखण्ड भारतमा नेपाली भूमि समेटिएकाे विषयमा प्रधानमन्त्रीले एक शब्द नबाेलेकाे भन्दै उहाँले प्रधानमन्त्री भारतसँग थुर्रथुर्र कामेकाे बताउनुभयाे । राष्ट्रघात गर्ने नेपाली लेण्डुपहरु विरुद्ध सत्ता र प्रतिपक्षका सबै देशभक्त सांसद् एक हुनुपर्ने सुवालले बताउनुभयाे ।
