काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ काे राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल सुरु हुनेछ ।
यसअघि आइतबार बाेलाइएकाे बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलकाे अवराेधका कारण स्थगित भएकाे थियाे । १ घण्टाका लागि भनेर स्थगित गरिएकाे बैठक आजका लागि सारिएकाे थियाे ।
आजकाे बैठककाे सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ ।
बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले वक्तव्य सहित 'आ.व. २०८०-०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । त्यसपछि राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।
