काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा दिएकाे राष्ट्रहित विपरीतकाे अभिव्यक्ति विरुद्ध कडा आपत्ति जनाएकाे छ ।
साेमबार प्रतिनिधि सभा बैठककाे सुरुआतमै समय लिएर बोल्दै एमाले सांसद् योगेश भट्टराईले कालापानी, लिपुलेख र लिम्पियाधुराको ठाउँमा भारतको मार्ग हुँदै बंगलादेश जाने मार्गका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयाे ।
प्रधानमन्त्री प्रचण्डलाई सीमा नाका र जग्गा सट्टाभर्ना गर्ने अधिकार नभएको प्रष्ट पार्दै उहाँले कुनै हालतमा राष्ट्रियता बन्धक राख्न र बेच्न नसकिने चेतावनी दिनुभयाे । सांसद् भट्टराईले भन्नुभयाे - 'कुनैपनि शर्तमा नेपालकाे संविधानले नेपालको भूमि अरु कुनृ विदेशीलाई दिने हक हाम्राे प्रधानमन्त्रीलाई दिएको छैन, उहाँले के आधारमा बंगलादेशकाे बाटाेकाे कुरा गर्नुभयाे, १९९७ मा आइके गुजरायल आएकाे बेलामै हामीले त्याे बाटाे पाएका छाैं, प्रदीप ज्ञवाली र जयशंकरकाे बीचमा भएकाे स्टेटमेन्टले सीमा समस्या ज्वाइन्स कमिशनबाट हल गर्ने भनेकाे छ, हामी कुनै जग्गा सट्टाभर्ना गर्ने शर्तमा हाम्राे राष्ट्रियता बन्दक राख्न सक्दैनाैं, बेच्न सक्दैनाैं ।'
नेपाल सबै छिमेकी देशसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने भन्दै उहाँले नेकपा एमाले जुनसुकै लम्पसारवाद विरुद्ध उभिने बताउनुभयाे । प्रतिनिधि सभा पनि उभिनुपर्ने सचिव भट्टराईले बताउनुभयाे ।
प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा बिमस्टेक सम्मलेन, सार्क सम्मेलन गराउने विषयमा भएकाे छलफलबारे जानकारी गराउन माग गर्दै उहाँले भन्दै ईपीजी प्रतिवेदन बुझाउने र पञ्चेरश्वरको परियोजनाको सम्झौता किन अघि बढेन भन्दै प्रश्न गर्नुभयाे ।
मनमोहन अधिकारी, गिरीजप्रसाद कोइराला, केपी ओली प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमण जाँदा जस्तो गर्वलायक प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण नभएको समेत बताउनुभयाे । 'आजदेखि हैन मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेलादेखि हामीले सीमा विषय उठाएको हो, यसमा हामी गर्व गर्छौं र गिरिजाप्रसाद कोइराला भारत भ्रमण जाँदा मनमोहन सिंहले अधिकारीले स्वागत गरेकोमा गर्व गर्दछौँ, केपी ओलीले प्रधानमन्त्री हुँदा नाकाबन्दी नखाेल्नेसम्म भारत भ्रमणमा आउँदिन भनेर साहस देखाउनुभएकाे थियाे, हामी त्याे साहसको सम्मान गर्दछौँ, हामी चाहान्छाैं यहाँ पनि त्यस्तै आँट गर्नुस् ।'
