काठमाडौं । प्रतिनिधि सभामा प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भारत भ्रमणको बेला सबै कुरा गम्भीरताका साथ राखेको बताए पनि उपलब्धि चाहिँ के भयो ? भनि प्रश्न गर्नुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको वक्तव्य माथि प्रश्न गर्दै गिरीले उपलब्धि खै भनेर हेर्ने हो भने १५ वटा मुर्रा राँगा लिएर आउने बाहेक अरू केही उपलब्धि नदेखिएको बताउनुभयो । ‘यति धेरै साना, झिना, मसिना कुरा उहाँले गर्दै जानु भयो कि सायद अब दुई÷चार क्विन्टल लसुन, प्याज, चिनी, आलु बोकेर आउनेसम्मको कुरा पनि यही भ्रमणको क्रममा हुने हो कि सम्झौता भन्नेसम्मको अवस्था देखियो, यो अत्यन्त दुर्भाग्य कुरा हो’, उहाँले भन्नुभयो ।
देशको मुख्य समस्या पञ्चेश्वर परियोजना अगाडि बढाउने सवालमा, सीमाको विवादका विषयहरूमा, भारतीय पूर्वाधार बनाएका कारण नेपालमा डुबान भएको विषयमा, हाइ अल्टिच्युटको हवाई रुट लिने सवाल, इपीजीको प्रतिवेदन लगायता विषयमा कुनै उपलब्धि नभएको उहाँले बताउनुभयो । विद्युत् व्यापार सम्झौता गर्ने भनिएको भए पनि त्यो नभएको उल्टो नेपालका दुई वटा नदी बुझाएर आउने काम भएको गिरीले बताउनुभयो । यसले दिगो राष्ट्रको हित नगर्ने उहाँले प्रष्ट पार्नुभयो ।
