काठमाडौं । प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालले आफू बाहेक संसद्का अन्य दल नागरिकता दिने कुराका विरोधी हुन् भन्ने देखाउन खोजेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको वक्तव्य माथि प्रश्न गर्दै लामिछानेले सांसदलाई छलेर विधेयक प्रमाणीकरण गराएर त्यहाँ भित्र रहेको महिला माथिको विभेदलाई समेत हटाउन नदिएको बताउनुभयो । त्यो संसदमा आएको भए महिला माथिको विभेद हटेर नागरिकता विधेयक बन्ने उहाँले बताउनुभयो ।
अहिलेको कानुनमा भएको विभेदको दोष सरकार र प्रधानमन्त्रीले लिनु पर्ने उहाँले बताउनुभयो । ‘यदि यो संसदमा आएको भए यसमा भएका विभेद संसद्ले हटाएर पास गर्दथ्यो’, लामिछानेले भन्नुभयो ।
प्रधानमन्त्री र मन्त्रीपरिषद्का कारणले विधेयक अदालतमा पुगेको र महिलाका अधिकार हनन् भएको लामिछानेले बताउनुभयो । संसद्मा ल्याएर प्रक्रिया पुर्याएर विधेयक पास गर्न खोज्ने दल र सांसद दोषी नभएर यसको दोष अब प्रधानमन्त्रीले लिनुपर्ने उहाँको भनाइ छ ।
