काठमाडौं । नेकपा एमालेका सांसद् गोकुल बास्कोटाले राष्ट्रपति रामचन्द्र पौडेललाई बडा महाधिराजधिराज बनाइएको हो ? भन्दै प्रश्न गर्नुभएकाे छ ।
सोमबार बसेकाे प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग स्पष्टिकरण माग गर्दै सांसद् बास्काेटाले नागरिकता विधेयक प्रमाणीकरणतर्फ लक्षित गर्दै भन्नुभयाे - 'राष्ट्रपति बडामहाराजधिराज भएको हो ? त्यो बनाएको हो ? नभए नागरिकता विधेयक प्रमाणीकरण कसरी गर्नुभयो ?'
बंगलादेश माेडलकाे नाममा प्रधानमन्त्री प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुराकाे विषयलाई झन् गिजाेल्नुभएकाे उहाँले बताउनुभयाे । सांसद् बास्काेटाले भन्नुभयाे - 'बुद्धिजिवी देखाएर बंगलादेशकाे माेडेलकाे कुरा गरेकाे जस्ताे देखियाे, बंगलादेश कुनै बेला अंग्रेजसँग विभाजन हुँदा भारतकै थियाे, तर नेपाल छुट्टै राज्य हाे. देश हाे भारतभन्दा पहिला याे हेक्का हुनुपर्छ, हामीले आश गरेका थियाैं कालापानीबाट भारतीय सेना हटाउन पहल हुन्छ भनेर, उल्टाे यसलाई गिजाेल्ने काम गर्नुभयाे जुन दु:खद छ ।'
प्रधानमन्त्रीले भारत भ्रमणबारे सदनलाई जानकारी दिँदा राम्राे कला प्रस्तुत गर्नुभएकाे भन्दै व्यंग्य गर्दै उहाँले भन्नुभयाे - 'त्यसाे गर्न उहाँ सक्षम हुनुहुन्छ, माहिर हुनुहुन्छ, किनभने उहाँ जसकाहाँ पुग्याे त्यसलाई ठिक्क बनाउन सक्नुहुन्छ ।'
