काठमाडौं । प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता रवि लामिछानेले प्रधानमन्त्री संसदमा रोष्टममा बोल्दा जे बोले पनि हुने तर त्यही कुरा अन्य सांसदले बोल्दा रेकर्डबाट हटाउन निर्देशन गर्ने कुरा गलत भएको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले संसद् सबैको लागि बराबर हुनुपर्ने बताउनुभयो । अरूले बोलेको कुरा रेकर्डबाट हटाउँदा प्रधानमन्त्रीले बोलेको कुरा पनि हटाउनु पर्ने उहाँले माग गर्नुभयो ।
दृष्टान्त स्वरूप भनेको कुरा पनि सत्ता पक्षले सहन नसक्ने र पेलेर अघि बढ्ने हो भने त्यसको परिणाम नराम्रो हुने उहाँले चेतावनी दिनुभयो । ‘यो सदन सत्ता पक्षको होइन, यो प्रतिपक्षको सदन हो, त्यस कारण प्रतिपक्षको उपस्थितिलाई सत्तापक्षले दादागिरी देखाउन नखोजोस्’, उहाँले भन्नुभयो ।
प्रतिनिधि सभामा संवेदनशील विषयमा छलफल गर्दा जम्मा एक मिनेटको समय छुट्टाएको भन्दै उहाँले सभामुख प्रति प्रश्न गर्नुभयो । संसद्लाई मजाक नबनाउन उहाँले आग्रह गर्नुभयो ।
