काठमाडौं । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले देश तरङ्गित भएको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले प्रधानमन्त्रीको भ्रमणले देश उत्साहित हुनु पर्नेमा तरङ्गित भएको बताउनुभयो । ‘यसले अविश्वास र अंशकाको स्थिति बनेको छ’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीको आफ्नै अभिव्यक्तिको कारण यो स्थिति आएको ओलीले बताउनुभयो । प्रधानमन्त्रीले बोलेको कुराको भिडियो रेकर्ड नै भएको कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीले बङ्गलादेश जाने बाटोसँग लिम्पियाधुरा, लिपुलेक र कालापानी साट्न सकिने अभिव्यक्ति प्रधानमन्त्रीले दिएको भन्दै ओलीले आलोचना गर्नुभयो । ‘पारवहनको सुविधा सट्टापट्टा विषय होइन त्यो अधिकारको विषय हो नेपालको, यसमा कुनै सट्टापट्टाको कुरा हुन सक्दैन’, ओलीले भन्नुभयो ।
बङ्गलादेश जानको लागि नेपालले कुनै जमिन दिनु पर्छ भन्ने कुरा अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले अत्यन्त कमजोर हिसाबले त्यो विषय उठाएको भन्दै उहाँले आलोचना गर्नुभयो । समुद्रसम्मको बाटो प्रयोग गर्ने कुरा सबै राष्ट्रको अधिकारको विषय भएको उहाँले प्रष्ट पार्नुभयो ।
बङ्गलादेश र भारतको सीमा समस्या खुल्ला छलफलमा बसेर समाधान गरेको ओलीले प्रष्ट पार्नुभयो । त्यो समस्या कुनै लेनदेन गरेर नभएको उहाँले बताउनुभयो । कुनै पनि सरकारलाई देशको जमिन लेनदेन गर्ने अधिकार नभएको उहाँले प्रष्ट पार्नुभयो । विदेशी भूमिमा प्रधानमन्त्रीले दिएको सो अभिव्यक्ति आपत्तिजनक भएको ओलीले बताउनुभयो । ‘प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो’, उहाँले भन्नुभयो ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो भन्ने कुरा हरेक कुराले प्रमाणित गरिसकेकोले त्यस विषयमा थप छलफल आवश्यक नरहेको उहाँले बताउनुभयो । आफ्नो जमिन फिर्ता लिन भारतसँग छलफलमा बस्दा ती प्रमाण भने देखाउनु पर्ने उहाँले प्रष्ट पार्नुभयो । लिपुलेक, लिम्पियाधुरा र कालापनी विवादित भूमि नै नभएको उहाँले दाबी गर्नुभयो । त्यसलाई विवादमा पर्ने प्रयास भएको ओलीले बताउनुभयो ।
आफ्नो भूमि मिचिएको कुरा बोल्न नसक्ने र भन्न नसक्ने सरकारले देशको रक्षा गर्न नसक्ने उहाँले बताउनुभयो । नेपालको सिर ठडिने गरी भारतमा प्रधानमन्त्री प्रस्तुत हुन नसकेको भन्दै उहाँले आलोचना गर्नुभयो ।
भ्रमणको क्रममा प्रोटोकल र तरिका पनि नमिलेको उहाँले व्यक्त गर्नुभयो । भारतका उपराष्ट्रपतिसँग फोटो खिच्दा परराष्ट्र मन्त्री र मन्त्रीहरुलाई नराखेर छोरीसँगै राखेर फोटो खिचेको भन्दै ओलीले प्रधानमन्त्रीको आलोचना गर्नुभयो । फस्ट लेडीलाई सँगै राखेर फोटो खिच्नु र परिवारका अन्य सदस्यलाई राखेर फोटो खिच्नु फरक विषय भएको उहाँले प्रष्ट पार्नुभयो ।
