काठमाडौं । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आफू र नेकपा एमाले कुनै व्यक्तिका लागि होइन विधि र प्रणालीको लागि लडेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले थिति, विधि र प्रणालीका विषयमा एमाले लडी रहने उहाँले बताउनुभयो । सत्ता गठबन्धनले पेसीमा राखिएको मुद्दालाई आधार बनाएर प्रधानन्यायाधीश माथि महाअभियोग दर्ता गरेर बेथिति सिर्जना गरेको ओलीले स्मरण गराउनुभयो । त्यो फाइलाई ६ महिनासम्म टेबुलको घर्रामा लुकाएर राख्न लगाएर सभामुखलाई बिचरा बनाएको ओलीले बताउनुभयो । राष्ट्रपति रामवरण यादवले विधेयक होल्ड गरेर रोकेको पनि उहाँले स्मरण गराउनुभयो । ‘लोकतन्त्र व्यक्ति भन्दा माथि हो, हरेक व्यक्ति आफ्नो सीमामा बस्नु पर्छ’, उहाँले भन्नुभयो ।
राष्ट्रपतिले प्रतिनिधि सभामा फिर्ता पठाएको नागरिकता विधेयक छलफल गर्न नदिई बहुमत छ भनेर पेलेर पठाएको कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो । सरकारले स्वेच्छाचारिता देखाएर अघिल्लो राष्ट्रपतिको अपमान गरेको उहाँले बताउनुभयो ।
ओलीले बलजफती गरेर सही ठाउँमा नपुगिने बताउनुभयो । संविधानसम्मत हिसाबले सहमतिबाट अघि बढे मात्र सही गन्तव्यमा पुग्न सकिने उहाँले प्रष्ट पार्नुभयो । प्रधानमन्त्रीले संसदमा लामो भाषण गरेको पूर्व राष्ट्रपतिलाई औँला ठड्याउन र अपमान गर्न मात्र गरेको उहाँको भनाइ छ ।
