काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भारत भ्रमण उपलब्धिबिहीन रहेकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा समय लिएर बाेल्दै एमाले अध्यक्ष ओलीले १५ वटा राँगा ल्याउनुबाहेक प्रधामन्त्रीकाे भारत भ्रमणमा अरु केही उपलब्धि नभएकाे बताउनुभयाे ।
भारत जानुभन्दा २ घण्टाअघि किन नागरिकता विधेयक प्रमाणीकरण गर्नुभयाे भन्दै प्रश्न गर्नुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'सम्माननीय प्रधानमन्त्रीज्यूले प्लेन चढ्नुभन्दा २ घण्टा अगाडि सहीछाप गराएर प्रमाणीकरण गरेर खल्तीमा हानेर जानुभयाे भन्छन्, हाेइन भने त्यतिबेलै किन गर्नुभयाे ? फर्केर आएर गर्न किन सक्नुभएन ? मंसिर, पुस, माघ र फागुनमा किन गर्नुभएन ? एउटा सरका हुँदा किन गर्नुभएन, एकथरी सहयाेगी हुँदा किन गर्नुभएन, अर्काेथरी सहयाेगी हुँदा किन गर्नुभएन ?'
प्रधानमन्त्रीकाे अरु कुरा भन्दा त्यहाँ दिएका अभिव्यक्ति र देखाएकाे व्यवहारबाट नेपाल र नेपाली जनाता दुखी भएका उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'अरु कुरा छाेड्दिउँ, गेरुवस्त्र लगाउनुभयाे, ढाकरभरी रुद्राक्ष बाेकेर जानुभयाे, कसरी बाेक्नुभयाे मैले त के जानु, ढाकरमा रुद्राक्ष बाेकेर, खल्तीमा प्रमाणीकरणको कागज बाेकेर जानुभयाे, उहाँ गएर जे बाेलियाे जे व्यवहार गरियाे त्याे उपयुक्त भएन, यसले राष्ट्रिय स्वाभिमान र हितमा धक्का परेकाे छ, राष्ट्रिय हितकाे संरक्षणमा, हाम्राे भाैगाेलिक अखण्डता हुन्छ भन्नेमा प्रधानमन्त्रीमाथि सन्देह पैदा भएकाे छ ।'
उहाँले प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा, राप्रपा, जनमतलाई चाखेर फालेको समेत बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'तपाइँलाई त मजा छ नि अहिले त चाखिचाखिमन एमाले चाखिहेर्नुभाे फ्यात्त फाल्नुभाे, रास्वपा चाखिहेर्नुभाे फ्यात्त फाल्नुभयाे, राप्रपा चाखिहेर्नुभाे फ्यात्त फाल्नुभयाे, जनमतलाई पनि यसाे चाखिहेर्नुभाे फ्यात्त फाल्नुभयाे, अर्काे चाखेर यस्साे सामेल गर्नुभएकाे छ अहिले, छानीछानी छ, सधैं यस्तै दिन आउँदैनन् है फेरि ।'
प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा बुद्धिजीवीले सट्टापट्टा गर्न सकिन्छ भनेका थिए भन्ने कुरा गर्न दिल्ली किन पुग्नुपर्यो भन्दै उहाँले प्रश्न समेत गर्नुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'पहिले कुन-कुन पर्वमा धरहरा चढेर त्यसको बार्दलीबाट विगुल फुक्थे, त्यो सदर मानिन्थ्य, त्यस्तै विगुल फुक्ने ठाउँ हो दिल्ली ? विभिन्न खालका विचारको प्रष्फुष्टीकरण गर्ने ठाउँ हो दिल्ली ? प्रधानमन्त्रीजी गलत भएको छ यो ।'
