काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देशकाे पक्षमा उभिन नसकेकाे बताउनुभएकाे छ ।
साेमबार प्रतिनिधि सभामा समय लिएर बाेल्दै एमाले संसदीय दलका नेता समेत रहनुभएका ओलीले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा देशकाे पक्षमा स्पष्ट अडान लिन नसकेकाे बताउनुभयाे ।
उहाँले नेपालकाे भूमि भारतीय संसद् भवनमा राखिएकाे विषयमा त्यहाँ पुग्दा पनि प्रधानमन्त्रीले त्यस विषयमा खण्डन गर्न नसक्नु खेदजनक रहेकाे बताउनुभयाे ।
सांस्कृतिक नाममा नेपालमाथि थिचाेमिचाे नगर्न भारतलाई सचेत गराउँदै अध्यक्ष ओलीले भारतले सांस्कृतिक उद्देश्यले नक्सा बनाइएकाे भन्दा नेपालका प्रधानमन्त्रीले बाेल्न नसक्नु दु:खद भएकाे बताउनुभयाे । उहाँले प्रश्न गर्नुभयाे - 'सांस्कृतिक भूगाेल हुन्छ ? राष्ट्र निर्माणकाे यही हाम्राे गन्तव्य हाे भनेर त्यहाँका संसदीय मन्त्री बाेल्छन् भने त्याे सांस्कृतिक कुरा हुन्छ ? यस्ताे कुरालाई हामीले सिरियस रुपमा लिनुपर्दैन ? यसकाे खण्डन हुनुपर्दैन हाम्राे तर्फबाट ? सधैं माैका मिल्दैन, दिनैपिच्छे जाने कुरा हाेइन, गएका बेला भन्नुपर्दैन ४ दिन बस्दा ? त्यसकारण प्रधानमन्त्रीज्यू माैका गुमाउनुमात्रै भएन, कुरा बिगार्नुभयाे ।'
अहिले तत्काल केही नभएपनि यस्तै हिसाबले अगाडि बढे धेरै कुरा कमजाेर हुँदै जाने भन्दै अध्यक्ष ओलीले देशकाे हित र देशकाे भूमिबारे भारतसँग या अरु छिमेकीसँग कुरा गर्दा नडराउन प्रधानमन्त्रीलाई सुझाव दिनुभयाे । भारतीयसँग डराउनुपर्ने कुनै कारण नभएकाे भन्दै उहाँले नेपाली भूमि राखेर भारतले नक्सा बनाउनु गम्भीर त्रुटी भएकाे बताउनुभयाे । तर यसमा सरकारले खण्डन गर्नैपर्ने पनि भएपनि नगर्नु गलत रहेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।
राष्ट्रिय हितको संरक्षण र भौगोलिक अखण्डताको रक्षाका विषयमा वर्तमान सरकार र प्रधानमन्त्रीमाथि सन्देह उत्पन्न भएको भन्दै उहाँले राष्ट्रका सीमा र नक्साका विषयमा अडानहीनता देखाउनु दु:खद कुरा भएकाे बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'यसरी राष्ट्रका सीमा र नक्साका सम्बन्धमा माैन रहनु उचित हुनुहुँदैन, यस्ताे ढंगले फस्नुहुँदैनथियाे फसियाे, दु:खकाे कुरा प्रधानमन्त्रीकाे याे अडानहिनता देखियाे ।'
उहाँले भारतका लागि कम्फर्टेबल सरकार बनाउन चाहानुभएका प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा त्यस्तै कमजाेर र फितलाे प्रदर्शन गर्नुभएकाे बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'सरकार बन्नुभन्दा अगाडि हामी भए कम्फर्टेबल हुन्छ भनेर कम्फर्टेबल बन्नका लागि काेशिस गरेर कम्फर्टेबल बनिआएकाे, प्रतिबद्धतासाथ कम्फर्टेबल बन्न खाेज्ने, राष्ट्रिय हितमा अड्न नखाेज्ने कुरा दु:खपूर्ण कुरा हाे, म दु:ख व्यक्त गर्न चाहान्छु, खेद व्यक्त गर्न चाहान्छु, याे बहुतै दु:खद कुरा हाे, याे समर्थनयाेग्य छैन, आफू कम्फर्टेबल हुनुभयो, प्याट्रियोटिक हुन सक्नुभएन, तपाइँ देशको पक्षमा उभिन सक्नु भएन ।'
उहाँले नागरिकता विधेयकलाई संसद्मा फेरी ल्याउनुपर्ने र वर्तमान सदनले छलफल गर्न पाउनुपर्ने बताउनुभयो । लोकतान्त्रिक पद्धति र संसद्को विशेषाधिकारलाई मन्त्रिपरिषद्ले मिच्न नपाउने बताउनुभयो । कुनै पनि विधेयकलाई सरकार नै नभई सभामुखलाई मात्रै तोक लगाउने अधिकार रहेको अध्यक्ष ओलीले बताउनुभयो । सरकारको काम विधेयकको मस्यौदा मात्रै तयार गर्ने भएको उहाँले बताउनुभयाे ।
