काठमाडौं । नेकपा एमालेका सांसद् ठाकुर प्रसाद गैरले बजेटमा विभेद गरिए सदनमै आन्दाेलन गर्ने चेतावनी दिनुभएकाे छ ।
सोमबार बसेकाे प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बाेल्दै सांसद् गैरेले आसेपासेका हितमा बजेट विनियाेजन गर्ने र आम नेपाली जनतालाई बेइमानी गर्ने अधिकार सरकारलाई नभएकाे बताउनुभयाे । तर अहिलेकाे सरकारले आफू, आफ्ना केही नेता र आसेपासेलाई प्राथमिकता दिएर बजेट ल्याएकाे उहाँले बताउनुभयाे ।
सरकारले सिंगाे देश र जनतालाई एउटै आँखाले नहेरेकाे भन्दै भन्दै उहाँले सबै जिल्लालाई समानुपातिक बजेट व्यवस्था नगरे सदनमै अनशन बस्ने चेतावनी दिनुभयाे । सांसद् गैरेले भन्नुभयाे - 'याे सरकारले डडेल्धुरा र त्यहाँका जनतालाई नेपाली देख्छ, नुवाकाेट र नुवाकाेटका जनतालाई मात्रै नेपाली देख्छ र म सुन्दैछु याे सरकारले केबल गाेरखा र गाेरखाका जनतालाई मात्रै सम्पूर्ण नेपाली जनता देख्छ र त्यही आँखाबाट बजेट विनियाेजन भइराखेकाे छ, अर्थमन्त्रीलाई सुरुमै गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु सत्तारुढ दलकाे माननीयज्यूले बर्दियाकाे पुलमुनी गएर अनशन बसेजस्तै स्वयम् सत्तापक्षका सांसद् र हामीसमेत याे सदनकाे राेष्टममा तपाइँले गरेकाे विभेदकाे बारेमा बाेल्नपर्ने परिस्थिति सृजना नहाेस् ।'
यी ३ वटा जिल्लामा करिब ४० प्रतिशत बजेट छुट्याउने र देशभरका जनतालाई निराश बनाउने काम अर्थमन्त्रीबाट भए मान्य नहुने चेतावनी दिँदै उहाँले भन्नुभयाे - 'हामी जे सुन्दैछाैं, याे खालकाे रवैयाबाट ब्याक हुनुस्, याे सिंगाे देशका लागि फाइदा हुनेछ, करेक्कसन गरेर आउनुस् ।'
साढे ५ खर्बकाे विकास बजेटमध्ये कम्तिमा ४ खर्ब सम्पूर्ण ७७ जिल्लालाई समान बाँड्न आग्रह गर्दै सांसद् गैरेले भन्नुभयाे - 'कुनै जिल्लामा विभेद नगर्नुस्, म पाल्पा जिल्लाकाे कुरा मैले जुन सुनिरहेकाे छु त्यस्ताे भयाे भने अर्काे तरिकाकाे आन्दाेलन गर्न नपराेस् ।' कृषि, शिक्षाका माैलिक हक, युवाहरुलाई स्वदेशमै बस्ने स्थिति बनाउनुहुन्छ कि नाही भनेर आफूहरुले प्रश्न साेधेपनि त्यसलाई बजेटमा नसमेटिएकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे ।
आफैंले प्रस्तुत गरेको नीति, कार्यक्रम र सिद्धान्तविपरीत अर्थमन्त्रीडा. प्रकाशशरण महतले बजेट ल्याएको भन्दै उहाँले यसले सबै क्षेत्रलाई निराश बनाएको बताउनुभयाे । सरकारकाे बजेट सुनेर सबै क्षेत्र आन्दाेलित भइरहेकाे बताउँदै उहाँले प्रश्न गर्नुभयाे - 'क्यापिटल मार्केटका मानिसहरु, जग्गा काराेबारीहरु, निजी क्षेत्र, किसानहरु सबै आन्दाेलनमा छन्, हामीमाथि बर्बादी हुँदैछ भनेर सचेत गराएकाे छ, यस्ताे किन भइरहेकाे छ, तपाइँले प्रस्तुत गरेकाे बजेटमा जनविश्वास पैदा भएन, नेपालकाे कर्मचारी प्रशासन कार्यान्वयन हुन्छ भन्नेमा आश्वस्त भएन ।' सेना-प्रहरी, निजी क्षेत्र कुनै पनि क्षेत्र सरकारसँग आश्वस्त नरहेकाे उहाँले बताउनुभयाे ।
सांसद ठाकुरप्रसाद गैरेले निश्चित घरानालाई करमा छुट दिने गरी सरकारले बजेट ल्याएको भन्दै आपत्ति जनाउनुभयाे । करका दायर लिकेज भएका समाचार आएका भन्दै उहाँले आपत्ति जनाउनुभयाे । सांसद् गैरेले भन्नुभयाे - 'गत वर्ष जस्तो सिसिटिभी फुटेज हराउने छैन, मुसाले तार काट्ने छैन, तर आज पनि हामी समाचार सुनिरहेका छौं कि निश्चित घरानाहरूलाई करको दरमा छुट दिने गरी करका दायरा तय गरिएकाे छ भन्दा हामीलाई दुःख लागेको छ ।'
गाडी खरिद गर्नेहरूलाई, कुनै विदेशी सामान आयात गर्नेहरूलाई रातारात करोडौं कमाउने गरी करका दायराहरू लिकेज भएको समाचार आउनु दु:खद भएकाे उहाँले बताउनुभयाे । 'म अर्थमन्त्रीजीको ध्यानाकर्षण गर्दै भन्न चाहन्छु- तपाइँ प्रस्तुत गरेको नीति विपरीत, सिद्धान्त विपरीत, तपाईले प्रस्तुत गरेको नीति, कार्यक्रम विपरीत, तपाइँले यो रोष्टमबाट याे सरकारले सबै जनतालाई समान आँखा हेर्छ भनेर भनेकाे अभिव्यक्तिविरुद्ध विपरीत बजेट ल्याउनुभएकाे छ, याे बजेट जब्बरजस्ती फुकिएको बेलुन हो त्यो कुनै पनि दिन फुट्न सक्छ’- सांसद् गैरेले भन्नुभयाे ।
जनतालाई आश्वस्त तुल्याउने ठाउँमा सरकारले सबैलाई निराश बनाएकाे बताउनुभयाे । आर्थिक मन्दीलाई स्वीकार्नुपर्ने, १५ औं पञ्चवर्षीय याेजनाका कुरा नसमेटिएकाे उहाँले बताउनुभयाे ।
