काठमाडाैं । नेपाली कांग्रेसका सांसद् ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ल्याएकाे बजेट यथार्थपरक र सन्तुलित रहेकाे दाबी गर्नुभएकाे छ ।
सोमबार बसेकाे प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बाेल्दै सांसद् कार्कीले बजेटले आगामी ५ वर्षकाे मार्गचित्र निर्धारण गरेकाे बताउनुभयाे । 'याे बजेट यथार्थपरक र सन्तुलित छ, बजेटले ५ वर्षकाे मार्गचित्र निर्धारण गरेकाे छ'- उहाँले भन्नुभयाे ।
बजेटले कृषि, उर्जा र पर्यटनलाई प्राथमिकता दिएकाे भन्दै सांसद् कार्कीले आइटी र कम्युटर साइन्सकाे विकासमा पनि ध्यान दिन सरकारलाई सुझाव दिनुभयाे ।
बजेटले आम नेपाली नागरिककाे भराेसालाई वृद्धि गर्ने र निजी क्षेत्रकाे शंकालाई निवारण गरेर उनीहरुलाई उत्साहित बनाएकाे दाबी समेत उहाँले गर्नुभयाे ।
सांसद् कार्कीले मुलुककाे अर्थतन्त्रले कमजाेर आर्थिक वृद्धि, बढ्दाे मुद्रास्फिति र उपभाेग्य वस्तुकाे बढ्दाे आयातलाई समाधान गर्दै आर्थिक विकास गरेर देशलाई स्थायित्वकाे बाटाेतर्फ अग्रसर गराउने बजेटकाे लक्ष्य रहेकाे उहाँकाे दाबी छ ।
