काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् डीपी अर्यालले सरकारले ल्याएकाे बजेट अचम्मकाे रहेकाे बताउनुभएकाे छ ।
सोमबार बसेकाे प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बाेल्दै सांसद् अर्यालले बजेटमा धेरै त्रुटी रहेकाले यथार्थपरक संशाेधन आवश्यक रहेकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'बजेट संसारमै अनाैठाे प्रकृतिकाे छ, जसमा नगन्य केहीलाई छाेडेर सम्पूर्ण राजश्वका स्राेतहरुकाे वृद्धिदर एकै २४ दशमलव ३७ प्रतिशत छ, टाेटल वृद्धिदर र त्यसअन्तर्गतका राजश्वका स्राेतहरुकाे वृद्धिदर समान छ, जसले राजश्वकाे प्रक्षेपणमा प्रश्न उठेकाे छ ।'
गैरकरतर्फ अन्य शुल्क, दण्ड, जरिवाना र जफतकाे वृद्धिदर पनि २४ दशमलव ३७ प्रतिशत रहेकाे भन्दै उहाँले अझ उदेकलाग्दाे त आयकर, मूल्यअभिवृद्धिकर, अन्तशुल्क, भन्सार महशुल र प्रशासनिक सेवा दस्तुकाे पनि समान वृद्धिदर रहेकाे बताउनुभयाे । 'भन्न पनि लाज लाग्ने, नेपालकाे आयात र निर्यातबाट प्राप्त हुने भन्सारकाे वृद्धिदर पनि २४ दशमलव ३७ प्रतिशत छ, आर्थिक वर्ष २०८०-८१ काे प्रक्षेपित जम्मा करिब ९३ प्रतिशत राजश्वकाे सबै स्राेतहरुकाे वृद्धिदर २४ दशलमव ३७ राखी प्रक्षेपण गरिएकाे राजश्वका आधारमा कसरी बजेटलाई वास्तविकमा आधारित बजेट भन्ने ?'
हचुवाकाे आधारमा प्रक्षेपित राजश्वका आधारमा बनाइएकाे बजेट कस्ताे हाेला भन्ने प्रश्न अर्यालले गर्नुभयाे । राजश्वका १ सय १९ मध्ये २१ बाहेक ९८ वटा स्राेतकाे वृद्धिदर एकै कसरी हुन्छ ? याे विद्वान अर्थमन्त्रीले जवाफ दिनुहाेला ।' चालु आर्थिक वर्षकाे राजश्वकाे लक्ष्य प्राप्त नहुने निश्चित भएकाे भन्दै उहाँले जसका कारण वित्त नीतिमा दबाब पर्ने बताउनुभयाे । 'हचुवाकाे भरमा प्रक्षेपित राजश्वले देशलाई कहाँ पुर्याउने हाे ? गम्भीर प्रश्न खडा भएकाे छ, तसर्थ बजेटमा यथार्थपरक संशाेधन अनिवार्य छ ।'
अत्यन्त विवादित संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ब्युँताएर नेपाली जनताका आर्थिक भार थप्ने काम मात्र नभइ प्रस्तु बजेटमाथिकाे विश्वसनियतामाथि नै प्रश्नचिन्ह खडा गरेकाे बताउनुभयाे । देश अत्यन्त चुनाैतीपूर्ण अवस्थामा गुज्रिरहकाे समयमा सरकारले याे कार्यक्रम समावेश गर्नु र बजेट बिनियाेजन गरिनु राज्यकाे अनुचित दाेहन रहेकाे भन्दै सांसद् अर्यालले त्यस काेषका लागि छुट्याइएकाे रकम अन्य आवश्यक विकास निर्माणका कार्यका लागि परिचालन गर्न माग गर्नुभयाे ।
वर्तमान आर्थिक अवस्थालाई सरकारले ध्यान नदिएकाे उहाँले बताउनुभयेा । आर्थिक वृद्धिदरका अनुमान पनि हावादारी रहेका सांसद् अर्यालले बताउनुभयाे ।
