काठमाडाैं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराइएकाे भन्ने समाचारमा सत्यता नभएकाे दाबी गर्नुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभामा यस विषयमा सांसद्ले उठाएका प्रश्नकाे जवाफ दिने क्रममा अर्थमन्त्री महतले बजेट निर्माणका क्रममा आफूले इमान्दारपूर्वक काम गरेको दाबी गर्नुभयाे । राजश्व परामर्श समितिको सुझाव र आन्तरिक छलफलबाट नै विधेयक तर्जुमा गरेकाे उहाँले बताउनुभयाे ।
इमानदार भएर काम गर्न कति कठिन हुने रहेछ भन्ने आफूले महशुस गरेकाे बताउँदै अर्थमन्त्री महतले भन्नुभयाे - 'इमान्दार भएर काम गर्दा प्रश्न उठ्याे, मैले प्रभावबाट मुक्त भएर पारदर्शी ढंगले मैले काम गरेकाे छु, इमान्दारीतामा एक इञ्च पनि ढल्केकाे छैन ।
विचाैलियालाई आफूले छेउछाउमा आउन नदिएकाे दाबी समेत उहाँले गर्नुभयाे । विद्युतीय गाडीको कर बढ्न सूचना नचुहाएको पनि अर्थमा्त्री महतले बताउनुभयाे । अर्थमन्त्री महतले बजेटमा करको दर हेरफेरमा भन्सार विभागको पूर्व नायव सुब्बा रामकृष्ण श्रेष्ठसँग आफ्नो कुनै व्यक्तिगत चिनजान नभएको र आफू आउनुभन्दा अगाडि नै नियुक्त भएको बताउनुभयाे ।
