काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट संसद्बाट मात्र नभएर व्यवहारमा पनि पास हुनुपर्ने बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा भाग लिँदै अध्यक्ष ओलीले नेपाल र नेपालीकाे राष्ट्रिय आकांक्षाप्रति बजेट उदासिन रहेकाे बताउनुभयाे ।
यस बजेटकाे कुनै भिजन र पाेलिसी नरहेकाे भन्दै उहाँले बजेटले आम नेपालीकाे हित गर्न नसक्ने बताउनुभयाे । बजेटमा चिलको आँखाको जस्तो भिजन हुनुपर्नेमा लाटोकोशेराको जस्तो भएको भन्दै अध्यक्ष ओलीले यस्ताे बजेटले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन नसक्ने बताउनुभयाे ।
बजेटमा अकर्मण्यता र शिथिलता रहेकाे भन्दै अध्यक्ष ओलीले बजेटबारे आफूले गरेको टिप्पणीलाई आलोचना गर्न भन्दा पनि उपलब्धिमा देखाउन सत्तापक्षलाई चुनाैती दिनुभयाे । उहाँले भन्नुभयाे - 'परिणाममा हेरियाेस्, पछि बहस गर्दा जवाफ त मलाई दिन सक्नुहुन्छ परिणाम र उलब्धिबाट जवाफ दिनुस् भन्न चाहान्छु सत्ता पक्षलाई ।'
समस्या समाधान गर्ने र आयस्राेत कसरी बढाउने भन्ने कुरामा ध्यान नभएकाे भन्दै अध्यक्ष ओलीले बजेट अजिंगर जस्ताे भएकाे बताउनुभयाे । इच्छाशक्तिदेखि समस्या र समाधानका कुरालाई बजेटले उद्घाेष गर्ने भन्दै उहाँले संसद्, आम नागरिक र विश्व समुदायलाई अर्थतन्त्रप्रतिकाे विश्वास जगाउनुपर्ने बताउनुभयाे ।
गत वर्षजस्तै अहिले पनि बहुमतको बलमा संसद्बाट बजेट पास भए पनि व्यवहार पास नहुने आशंका उहाँले व्यक्त गर्नुभयाे । बजेटमार्फत सरकारले राष्ट्रिय आकांक्षा, उद्देश्य, नीति र याेजना प्रस्तुत गर्नुपर्ने भन्दै अध्यक्ष ओलीले बजेटले बजेट निर्माणका कुनै पनि आधारभूत आधार नछाेएकाे बताउनुभयाे ।
बजेटले लिएको लक्ष्य पूरा नहुने भन्दै अध्यक्ष ओलीले नीति तथा कार्यक्रममाथिको छलफलमा आफूहरूले दिएको सुझावलाई बेवास्ता गरिएको भन्दै उनले अघिल्लो वर्ष ल्याइएको बजेटले लिएको लक्ष्य पूरा गर्न नसकेको बताए ।
अध्यक्ष ओलीले पूजापाठबाट अर्थतन्त्र सुदृढ भएकाे इतिहास कतै नरहेकाे कटाक्ष गर्दै चाहानाबाट मात्रै त्याे पूरा हुने बताउनुभयाे । प्रतिपक्षलाई उपलब्धिबाट जवाफ दिन सरकारलाई आग्रह गर्दै उहाँले भन्नुभयाे - 'बहुमतकाे बलमा बलजफ्ति पास गर्नुस्, तर हामीलाई उपलब्धिबाट जवाफ दिनुस्, हामीलाई व्यक्ति हाेइन देशकाे सवाल छ ।' विकृति हटाएर समस्याहरु नियन्त्रण नगरिए आर्थिक वृद्धिदर हासिल नहुने अध्यक्ष ओलीले बताउनुभयाे ।
