काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाश शरण महतलाई पूजा पाठबाट देशकाे अर्थतन्त्र सुधार सुदृढ नहुने बताउनुभएकाे छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा बोल्दै अध्यक्ष ओलीले संसारमा कहिँपनि पूजापाठ गरेर अर्थतन्त्र सुदृढ भएकाे इतिहास नरहेकाे बताउनुभयाे । अर्थतन्त्र सुधारका लागि काम गर्नुपर्ने र भिजनसहितकाे प्रयास गर्नुपर्ने उहाँले बताउनुभयाे ।
अर्थतन्त्रमा अहिले देखिएका समस्यालाई अनदेखा नगर्न अर्थमन्त्रीलाई सुझाव दिँदै उहाँले सरकारले ल्याएकाे बजेट अजिंगरजस्ताे भएकाे समेत गर्नुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'याे बजेट अजिंगर जस्तो छ, अगाडि केही आयो भने तानेर खाउँला, भन्सारमा राखिदिएको टोकरीमा आइलाग्यो भने स्वाप्प पार्ने, मैथिलीतिर भन्छ अस्गर केरन चाकरी, पन्छी करेन काम, सबके दाताराम, त्यस्तै अजिंगरले काम गर्दैन, पन्छीको खेतीसेती छैन, पालिएको छ भने हामी किन पालिँदैनौं भगवान छन् नि भन्ने छ, यहाँ भएन भने भारत गएर १०८ किलो माला चढाएर भए पनि भगवान छन् नि हाम्रा, किन कोशिस गर्नुपर्याे भन्ने छ, तर संसारमा पूजा पाठबाट अर्थतन्त्र सुदृढ कहीँ पनि भएको छैन अर्थमन्त्रीज्यू, चाहनाबाट मात्रै हुँदैन, प्रयासबाट हुने हाे, भिजन र क्यालकुलेसन सहितकाे चाहिन्छ ।'
