काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०-०८१ को बजेट सच्याउन सरकारलाई सुझाव दिनुभएकाे छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा बोल्दै अध्यक्ष ओलीले देश र जनताकाे हितमा नआएकाे भन्दै यसलाई सच्याउन सरकारलाई सुझाव दिनुभयाे ।
देश र जनताका लागि बजेट सच्याउन सरकार तयार भए एमालेले साथ दिने र सरकार असफल भयाे भनेर नभन्ने पनि उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'असफलताकाे बाटाे बजेट त्याग्नुपर्छ, अब यहाँ सत्ता अहंकार हुन्छ बजेट सच्याउन मिल्दैन, बजेट सच्याएवापत सरकार असफल भयो भन्दैनौं हामी, सच्याउनुस बजेट, सरकार असफल भयो, बजेट फेर्यो भन्दैनौं हामी, तर सरकार देश र जनताका लागि बजेट सच्याउन तयार होस्, हामी साथ दिन्छौं ।'
सत्तारुढ दलले अहंकार देखाएर बजेट सच्याउन नचाहे परिणामले सो अहंकारलाई झारिदिने चेतावनी समेत अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'सत्ता अहंकारले बजेटमा कमा, फुलिष्टप फेरिदैन, हामी जो बाहुबली छाैं, टेर्दैनौं भन्नु हुन्छ भने परिणामले तपाईलाई सत्ता अहंकारबाट तपाइँको अहंकारको सत्ताको भूत परिणामले झारिदिनेछ ।'
देश र जनताकाे हितमा नभइ सत्ता गठबन्धनका निहीत स्वार्थ पूरा गर्ने अनुकुल हुने मापदण्ड बनाएर स्राेत सुनिश्चितताकाे षड्यन्त्रमूलक सदुयाेग गर्ने ढाेका खाेल्ने काम सरकारले गरेकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले संसदीय स्वीकृति नभइ बजेट सुनिश्चितताकाे निर्णय हुने छैन भन्ने घाेषणा गर्न सरकारलाई के ले राेकेकाे छ भन्दै प्रश्न गर्नुभयाे ।
अध्यक्ष ओलीले सत्तारुढ दलले अहंकार देखाएर बजेटमा कमा र फुलस्टप पनि सच्याउन नचाहे परिणामले सो अहंकारलाई झारिदिने चेतावनी समेत दिनुभयाे ।
जीवन गति र दिशाबिहीन बजेटबाट देश र जनताकाे भविष्य नबन्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयाे - 'विकल्प आवश्यक छ, त्याे विकल्प यहाँहरुले दिन सक्नुहुन्न भने केही समयपछि एमालेले दिनेछ ।'
