काठमाडौं । नेपाली कांग्रेसका सांसद् विमलेन्द्र निधिले संविधान र संघीयताको कार्यान्वयनलाई उच्च प्राथमिकता दिइनुपर्ने बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा बाेल्दै सांसद् निधिले संविधानकाे कार्यान्वयनका लागि कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र सञ्चारमाध्यमकाे भूमिका महत्वपूर्ण हुने बताउनुभयाे ।
संविधानलाई कार्यान्वयन गर्ने हो भने जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिनेमा कसैले पनि कुनै बाधा अड्चन गर्न नहुने उहाँले बताउनुभयो । राष्ट्रपति रामचन्द्र पाैडेलले गर्नुभएकाे नागरिकता विधेयक प्रमाणीकरण संविधानसम्मत रहेकाे दाबी समेत निधिले गर्नुभयाे ।
१५ गते गणतन्त्र दिवसकाे दिनमा बजेट ल्याउने व्यवस्थाले गणतन्त्र ओझेलमा परेकाे भन्दै सांसद् निधिले त्यस दिन बाहेक अरु कुनै दिन बजेट ल्याउनेगरी संविधान संशाेधन गर्न सुझाव दिनुभयाे ।
निर्वाचन तालिकालाई बदलेर संसद्, प्रदेश र स्थानीय तहको निर्वाचन गर्न, देशकै पुरानो त्रिभुवन विश्वविद्यालयलाई ‘एक्सलेन्स’ सेन्टरका रूपमा विकास गर्न तथा बाँकी आंगिक र सम्बन्ध प्राप्त क्याम्पसलाई नयाँ विश्वविद्यालयका रूपमा विकास गरिनुपर्ने उहाँले बताउनुभयो ।
सांसद् निधिले नेपालमा एउटामात्र सहकारी बैंक भएकाे भन्दै थप एउटा बैंक खाेल्न सुझाव दिनुभयाे ।
