काठमाडौं । नेकपा एमालेका सांसद् याेगेश भट्टराईले देशकाे आर्थिक संकटकाे निकासका लागि एउटा बृहत् आर्थिक सम्मेलन गर्नुपर्ने बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा बाेल्दै सांसद् भट्टराईले देशकाे अर्थतन्त्र इतिहासकै खराब अवस्थामा रहेकाे बताउनुभयाे ।
राजनीति, विचार र गन्तव्य फरक भएपनि देशकाे अर्थतन्त्र ध्वस्त भयाे भने सबै ध्वस्त हुने भन्दै उहाँले अध्यक्ष केपी शर्मा ओलीले चर्चा गरेका विषयलाई मनन गरेर त्यस खालकाे सम्मेलनका लागि पलह गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतलाई आग्रह गर्नुभयाे ।
सांसद् भट्टराईले भन्नुभयाे - 'जब आर्थिक संकटकाे अवस्था आउँछ त्यतिबेला धेरै देशले बृहत् आर्थिक सम्मेलन गर्ने गरेका छन्, सबै राजनीतिक दल, नीति निर्माण गर्ने निकाय, कर्मचारीतन्त्र, निजी क्षेत्र र विकासका साझेदार अन्तर्राष्ट्रिय समुदाय लगायतकाे सहभागितामा एउटा बृहत् गोलमेच सम्मेलन गरौं, त्यसले आजको आर्थिक अवस्थाको निकास दिने बाटो के हो ? त्यसको साझा अवधारणा बनाऔं, त्यो कांग्रेस वा एमालेको अवधारणा हुँदैन, मुलुकको अवधारणा हुन्छ, हिम्मत गर्नुस्, प्याराडाइम सिफ्ट गर्नुस् अर्थमन्त्रीज्यू ।'
नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट लिएकाे ऋणलाई अनुदानमा परिणत गर्नका लागि त्यस गाेलमेच सम्मेलनमा सामूहिक आग्रह गर्नुपर्ने बताउनुभयाे । त्यसका लागि राष्ट्रिय संकल्प चाहिने भन्दै उहाँले प्रतिपक्षी, सदन र सराेकारवालाहरुसँग कुरा गर्न सुझाव दिनुभयाे ।
चलनचल्तीकाे हिसाबले जाने हाे भने फेरि अर्काे बिलाैना सुन्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिँदै उहाँले प्रतिपक्षी दल त्यसमा सहयाेग गर्न तयार रहेकाे बताउनुभयाे ।
खर्च कटाैतीकाे प्रस्तावबारे घाेषणा र लिखित फरकफरक भएकाे भन्दै उहाँले राष्ट्रपति, प्रधानमन्त्रीदेखि राज्यका उच्चपदस्थ कर्मचारीको २५ प्रतिशतले तलबभत्ता कटौती गर्न प्रस्ताव गर्नुभयाे । त्यसबाट आउने पैसा कुनै राष्ट्रिय गाैरवकाे आयाेजनामा लगानी गर्न सुझाव दिँदै यसमा सहयाेग गर्न आफूहरु तयार रहेकाे बताउनुभयाे । 'म प्रस्ताव गर्न चाहन्छु, राष्ट्रपतिदेखि उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेश सभा, उपसचिवभन्दा माथिका कर्मचारीहरू, राजनीतिक नियुक्तिमा भएका मानिसहरू ती सबैको आउँदो वर्ष २५ प्रतिशतले तलबभत्ता कटौती गर्ने घोषणा गर्नुस्, हामी प्रतिपक्षको हिसाबले तपाइँलाई समर्थन गर्छौं, हिम्मत गर्नुस्, त्यसबाट आउने पैसा एउटा कुनै राष्ट्रिय गौरवका आयोजनामा हामी खर्च गर्छौं भन्नुस्, खर्च कटौती यसरी हुन्छ'
पुँजीगत खर्च घटाएर चालु खर्च बढाएर ६ प्रतिशतकाे आर्थिक वृद्धि हासिल हुन नसक्ने उहाँले बताउनुभयाे ।
राजस्वका दर निर्धारण गर्दा मुसा पसेको भन्दै सांसद भट्टराईले संसद्को निगरानी आवश्यक रहेकाे बताउनुभयाे । उहाँले अब राजस्वका दर निर्धारण गर्दा त्यो कमिटीमा संसद्को लेखा समिति र अर्थ समितिका सभापतिलाई राख्न समेत सुझाव दिनुभयाे । सांसद् भट्टराईले भन्नुभयाे -'अघिल्लो वर्ष पनि बजेटमा मुसा पस्यो, यो वर्ष पनि आशंका भयो, म यसको निम्ति समाधान के भन्छु भने अब राजस्वका दर निर्धारण गर्दा त्यो कमिटीमा संसदको लेखा समिति र अर्थ समितिका सभापतिलाई पनि राख्नुहोस्, त्यसो हुँदा संसद्को निगरानी पनि बढ्छ र यो समस्या पनि हल हुन्छ ।'
कृषिकाे पुर्नसंरचना आवश्यक रहेकाे भन्दै उहाँले कृषकहरुले आफ्नाे उपजकाे मूल्य पाउनुपर्ने बताउनुभयाे । कृषि क्षेत्रमा किसानलाई प्राेत्साहन गर्न कृषि उपज किन्ने सम्झाैता गर्नुपर्ने सांसद् भट्टराईले बताउनुभयाे ।
