काठमाडौं । स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएकाे विषयमा संसदीय समिति बनाएर छानबिन गर्न माग गर्नुभएकाे छ ।
मंगलबार प्रतिनिधि सभामा समय लिएर बाेल्दै सांसद् सिंहले बजेट निर्माणका बेला विचाैलियातन्त्र हावी हुने गरेकाे बताउनुभयाे । धनीले खाने सालमण्डमा कर छुट गर्ने र गरिबले खाने आलुप्याजमा कर लगाउने काम सरकारले गरेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे ।
सर्वसाधारणले चढ्ने कम क्षमताका विद्युतीय गाडीको कर बढ्नुले नै करका दर हेरफेर रहेकाे आशंका बढेकाे भन्दै सांसद् सिंहले प्रमुख दलका नेताको कल डिटेलसहित अनुसन्धान गर्नुपर्ने माग गर्नुभयाे । 'यहाँ अर्थमन्त्रीको विषय मात्र होइन, राज्यमाथि नै नागरिकको भरोसा टुट्न लागेको छ, विचाैलिया र व्यापारीक घरानाबाट मुक्ति कहिले हुने हाे ? संसदीय समिति बनाएर छानबिन गराैं, सरकारका प्रभावशाली चाहे प्रधानमन्त्री, अर्थमन्त्री, चाहे अरु हुन्, बजेटका कर बनाउने क्रममा उनीहरुले कति विजनेस घरानासँग कुरा गरेका छन् भनेर त्यसकाे कल डिटेल संसद्मा राख्नुपर्छ, त्यसपछि मात्र दूधकाे दूध पानीकाे पानी हुन्छ' - उहाँले भन्नुभयाे ।
