काठमाडाैं । नेकपा एमालेकी सांसद् ईश्वरी घर्तीले कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरको जीवनी पाठ्यपुस्तकमा राख्न सरकारसँग माग गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् घर्तीले दुवै खुट्टा नभएपनि विश्वकाे सर्वाेच्च शिखर सगरमाथाकाे आराेहण गरेर नेपालकाे नाम विश्वभर चिनाउन सफल भएका हरिलाई सरकारले उचित पदकले सम्मान गर्नुपर्ने पनि बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'शारीरिक रुपमा अशक्त हुँदा समेत ज्यानकाे प्रवाह नगरी नेपालाई विश्वभर चिनाउने हरि बुढामगरलाई, नेपाल सरकारले वर्षेनी वितरण गर्ने कुनै उच्च तहकाे विभुषण प्रदान गर्न र माध्यमिक तहमा सामाजिक विषयमा उहाँकाे जीवनी समावेश गर्न म सरकारसँग माग गर्छु ।'
सांसद् घर्तीले हरिलाई सम्मान गर्ने सबैलाई धन्यवाद दिनुभयाे । दुवै खुट्टाका घुँडाभन्दा तलको भाग गुमाएका बुढामगरले यही जेठ ५ गते सगरमाथाको सफल आराेहण गर्नुभएकाे थियाे ।
