काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् लेखनाथ दाहाल सभामुख देवराज घिमिरेमाथि खनिनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएकाे बजेटमाथिकाे छलफलमा बाेल्दै सांसद् दाहालले सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावलीको उल्लंघन गरेको गम्भीर आराेप लगाउनुभयाे ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रोष्टममा उभ्याएर सभामुखले अन्य सदस्यहरुलाई बोल्न समय दिएकाे आराेप उहाँले लगाउनुभयाे ।
सदनमा काेही स्वतन्त्र नभएकाे भन्दै सांसद् दाहालले सबैले संविधान र नियमावली मान्नुपर्ने सांसद् दाहालले बताउनुभयाे । 'सदन चलाउँदा सदनमा हामी स्वतन्त्र छैनौँ, हामी हरेक सांसदहरु स्वतन्त्र छैनौँ, सभामुख पनि स्वतन्त्र हुनुहुन्न, संविधानको मातहतमा र प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर मात्र हामीले आफ्ना अभिव्यक्ति राख्न पाइन्छ, सम्माननीय सभामुख आफैले पनि नियमावलीकाे उल्लंघन गर्नुभएकाे छ, राेष्टममा तपाइँले प्रधानमन्त्रीलाई रुलिङ गर्ने कि सांसद्हरुलाई ? तपाइँ चुप लाग्नुस्, उहाँहरू बोल्नुहुन्छ भन्ने ?'- उहाँकाे प्रश्न छ ।
प्रतिपक्षले जवाफ मागेकै कारण प्रधानमन्त्रीलाई बाेल्न सभामुखले समय दिनुभएपनि बाेल्दै गर्दा प्रतिपक्षले राेक्न खाेज्नु गलत रहेकाे सांसद् दाहालले बताउनुभयाे । 'यहाँहरुकाे माग अनुसार सम्माननीय प्रधानमन्त्री जवाफ दिन रोष्टममा उभिँदाखेरी उहाँले जवाफ दिन पाउनुभएन, तपाइँहरुले प्रधानन्त्रीको हुर्मत लिनुभयो, हेप्नुभयो'- उहाँले भन्नुभयाे ।
साभामुखले प्रधानमन्त्रीले बोलिसकेपछि प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई बोलाएर फेरि टीकाटिप्पणी गर्ने अधिकार दिएको आराेप पनि सांसद् दाहालले लगाउनुभयाे ।
सांसद् दाहालले सभामुखमाथि आराेप लगाएपछि एमाले सांसद् सूर्य थापाले नियमापत्ति जनाउनुभयाे । सभामुखकाे आलाेचना गर्न नपाइने भन्दै उहाँले नियमावलीकाे व्यवस्था सम्झाउनुभयाे । '२१ (ख) मा सभामुखको आचरणको आलोचना गर्न नहुने भनेर स्पष्ट लेखिएको छ, गर्न पाइन्छ कि पाइँदैन ? बजेट वक्तव्यमाथि छलफलमा भाग लिन रोष्ट्रममा जानुभएको हो कि, कहिले पित्तल लिएर जानुहुन्छ, कहिले चाँदी लिएर जानुहुन्छ, कहिले प्रधानमन्त्रीको वकिल भएर जानुहुन्छ'-थापाले दाहाललाई भन्नुभयाे । प्रतिपक्षी नेताले आफूले समय लिएर बाेल्न सक्ने व्यवस्था रहेकाे पनि उहाँले स्मरण गराउनुभयाे ।
त्यसपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको नियमावली २०७९ को नियम २१ को खण्ड 'ख' को व्यवस्थाप्रति ध्यानाकर्षण गराउनुभयाे ।
