जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले बजेट समाजवाद विमुख र असन्तुलित रहेकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा बाेल्दै अध्यक्ष यादवले बजेट संविधानले परिकल्पना गरे अनुरुपको समाजवादउन्मुख नभएको बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'बजेट समाजवादउन्मुख छँदै छैन, बजेट विकृत पुँजीवादी या नवउदारवादी सिद्धान्तमा आधारित छ, यस किसिमको बजेटले समाजवादउन्मुख बाटो पक्रन सक्दैन, समाजवादउन्मुख होइन समाजवाद विमुख बजेट हाे याे ।'
सरकारले बजेट निर्माण गर्दा सन्तुलित र समावेशी विकासको अवधारणालाई अवलम्बन गर्न नसकेकाे अध्यक्ष यादवले बताउनुभयाे । बजेट निर्माणमा अर्थमन्त्रालयका कर्मचारीको व्यक्तिगत स्वार्थ हाबी देखिएकाे समेत उहाँले बताउनुभयाे । 'बजेट निर्माणको प्रक्रिया नै गलत छ, जनताले सांसद् वा मन्त्रीले बजेट बनाउँछन् भन्ने सोच्छन् होला, तर बजेट बनाउने कर्मचारी, घुसपैठिया र बिचौलियाले रहेछन्'- अध्यक्ष यादवले भन्नुभयाे ।
बजेटले लक्ष्य अनुरुपको ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने समेत बताउनुभयाे । उत्पादनमूलक उद्योगको सवलीकरण, कृषि तथा पर्यटन क्षेत्रको प्रवर्द्ध गर्ने र सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने भन्ने विषय सकारात्मक रहेपनि यी विषय चुनाैतिपूर्ण रहेका उहाँले बताउनुभयाे । अध्यक्ष यादवले भन्नुभयाे - 'यही तरिकाले अगाडि बढ्ने हो भने २०२६ सम्ममा विकासशिल मुलुकमा स्तरोन्नति हुन पनि सम्भव छैन ।'
भ्रष्टाचार नियन्त्रण नहुने भन्दै उहाँले त्यसका लागि निश्चित याेजना हुनुपर्ने बताउनुभयाे । 'भ्रष्टाचार नियन्त्रण गर्ने कुनै कन्ट्रोल प्लान छ ? कहीँ केही छैन त, कुरा गरेर भ्रष्टाचार नियन्त्रण हुँदैन, भ्रष्टाचार कसरी नियन्त्रण गर्ने हो ? त्यस विषयमा अध्ययन गरेर एक्सनप्लान बनाउन आवश्यक छ '- अध्यक्ष यादवले भन्नुभयाे ।
संघीयताको प्रभावकारी कार्यान्वयन गरी आन्तरिक उत्पादन वृद्धि गर्ने कुरा पनि सकारात्मक रहेकाे सांसद् यादवले बताउनुभयाे । तर भोकमरी, गरिबी, बेरोजगारी र अशिक्षाबाट जनतालाई मुक्त गर्नेगरी बजेट नआउनु दु:खद भएकाे उहाँकाे भनाइ छ ।
बजेटले मधेशलाई उपेक्षा गरेकाे भन्दै सांसद् यादवले आपत्ति जनाउनुभयाे । बजेट समावेशी नभएकाे बताउँदै उहाँले भन्नुभयाे - 'मानव विकास सूचकांकमा सबैभन्दा पछि परेका मधेश प्रदेश र तराईका जिल्लाहरुलाई सबैभन्दा कम बजेट विनियाेजन गरिएकाे छ, पढेर एउटा सुनाउने विनियाेजन गर्दा यसकाे उल्टाे गर्ने कुन राजनीतिक सिद्धान्त हाे ?' जनसंख्या अधिक बजेट कम दिनुले नश्लवादकाे चिन्तन स्पष्ट पारेकाे भन्दै उहाँले यस चिन्तनबाट मुक्त हुनुपर्ने बताउनुभयाे ।
