काठमाडाैं । नेकपा एमालेका सांसद् रघुजी पन्तले चुरे पर्वत नछुन सरकारलाई चेतावनी दिनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा बाेल्दै सांसद् पन्तले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई साे चेतावनी दिनुभयाे । उहाँले भन्नुभयाे - 'अर्थमन्त्रीज्यू, नीति तथा कार्यक्रममा पनि आछ, प्रधानमन्त्रीकाे भाषणमा पनि आछ, बजेटमा पनि आछ, चुरे नछुनो होला, छुनुभयो भने देशमा आगो बल्छ ।'
प्राकृतिक स्रोत संशाधन बेचेर देश कहिले पनि धनी नहुने भन्दै सांसद् पन्तले चुरेको ढुंगा माटो निर्यात गरेर देशको खर्च टार्न नसकिने बताउनुभयाे । भारतका नदी गंगा, यमुना र सरस्वती नदीको पानीमाथिको अधिकारबारे महात्मा गान्धीले नेहरुलाई दिएको जवाफकाे चर्चा गर्दै उहाँले भन्नुभयाे - त्यसैले चुरे बेच्नु भन्दा पहिले यो कुरा सम्झिनुहोला, ढुंगा, माटो र गिट्टी बेच्दा ख्याल गर्नुहोला, तपाइँ आफै विकासउम्मूख देश हो, तपाइँ आफैलाई चाहिन्छ विकास गर्नका लागि यी साधन र स्रोतहरु ।'
सरकारले ल्याएकाे बजेटले देश र जनतामा उत्साह ल्याउन नसकेकाे सांसद् पन्तले बताउनुभयाे । बजेटकाे कुनै गन्तव्य नभएकाे भन्दै उहाँले स्पष्ट रणनीति नभएकाे, मुलुकलाई कता लैजाने ? विकासकाे कुन दिग्दर्शनकाे माध्यममा याे बजेट अगाडि बढ्छ भन्ने नै नरहनु याे बजेटकाे सबैभन्दा ठूलाे कमजाेरी रहेकाे बताउनुभयाे ।
बजेटमा देशकाे सम्पूर्ण चित्र देखिनुपर्नेमा त्यसाे हुन नसकेकाे भन्दै उहाँले देशकाे आर्थिक समस्या र त्यसकाे समाधानबारे बजेटमा कुनै याेजना नराखिएकाे बताउनुभयाे । सांसद् पन्तले भन्नुभयाे - 'बजेट भनेकाे गएकाे आर्थिक वर्ष र आउने वर्षमा खर्च र आम्दानीकाे विवरण मात्र हाेइन, बजेट भनेकाे सपना हाे, अर्थ राजनीतिक दस्तावेज हाे, जसले मुलुककाे सपनालाई बाेकेकाे हुन्छ, यसले साग बेच्ने किसानदेखि अर्बपतिसम्मलाई प्रभाव पार्छ, त्यसैले याे बजेटमा देशकाे तस्विर आउनुपर्छ, मुलुककाे सामाजिक अवस्था परिलक्षित हुनुपर्छ, देशकाे हुटुहुटी बाेक्नुपर्छ, जनताका आकांक्षा बाेक्नुपर्छ, उनीहरुका चिन्ता र चासाेलाई सम्बाेधन गर्नुपर्छ तब पाे देशकाे बजेट ।'
देशलाई अघि बढाउन पैसासँगै कमिटमेन्ट, अठाेट र प्रतिबद्धता चाहिने उहाँले बताउनुभयाे ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री महत र कांग्रेस सभापति शेरबहादुर देउवाकाे जिल्लामा विकास बजेट धेरै छुट्याइएकाेमा उहाँले आपत्ति जनाउनुभयाे ।
