काठमाडाैं । प्रतिनिधि सभामा आज पनि आर्थिक वर्ष २०८०-०८१ को बजेटमाथि छलफल हुँदैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सांसद्हरुले बजेटमाथि आफ्ना धारणा राख्नेछन् । प्रतिनिधि सभामा साेमबारदेखि बजेटमाथि छलफल सुरु भएकाे हाे ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा यही जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गर्नुभएकाे थियाे ।
आजकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'महालेखापरीक्षकको साठिऔं वार्षिक प्रतिवेदन २०७९' पेस गर्नुहुने सम्भावित कार्यसूची समेत रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकले संविधानसभा सदस्य महेश चौधरीको निधनमा शाेक प्रस्ताव पारित गर्ने कार्यसूची पनि छ । चाैधरी नेकपा एमालेकाे तर्फबाट २०४८ सालमा तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित, ०६४ सालको संविधान सभामा मन्त्रिपरिषद्बाट मनोनित हुनुभएकाे थियाे । उहाँकाे ०८० जेठ २४ गते निधन भएकाे थियाे ।
