काठमाडौं । प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले कोसी प्रदेशको नाम के राख्ने भन्ने अधिकार त्यहाँको संसद्लाई भएको बताउनुभयो ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै भट्टराईले कोसी प्रदेशको नामाकरणको विषयलाई एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्वाङ लगायतका नेतालाई आक्रमण गरी ज्यान लिने प्रयास भएको भन्दै आलोचना गर्नुभयो । ‘हाम्रा नेताहरूको हत्याको प्रयास भएको थियो भन्ने कुरा स्वाभाविक रुपमा बुझ्न सकिन्छ’, बैठकमा बोल्दै भट्टराईले भन्नुभयो ।
हरेक सर्वसाधारण नागरिकको सुरक्षा गर्नु सरकारको दायित्व भएको बताउँदै भट्टराईले प्रमुख प्रतिपक्षी दलको नेता र पूर्व प्रधानमन्त्रीलाई समेत सरकारले सुरक्षा दिन नसकेको बताउनुभयो । ‘आफ्ना पार्टीका कार्यक्रममा जाँदा एम्बुसम्म थापेर मार्न खोजिन्छ भने यो बुद्धको देशमा के हुँदै छ ?’, भट्टराईले प्रश्न गर्नुभयो ।
उहाँले त्यस्ता घटनामा संलग्न मानिसलाई कारबाही होला भन्ने एमालेले चाहेको भए पनि कारबाही नभएको भन्दै उहाँले निन्दा गर्नुभयो । प्रहरी माथि ढुङ्गा हान्दा समेत प्रहरी मौन बसेको र नेताहरू माथि आक्रमण हुँदा पनि प्रहरी हेरेर बसेको उहाँले बताउनुभयो ।
इलाममा कोसी प्रदेशका एमाले संसदीय दलका उपनेता, उदयपुरको गाईघाटमा केसी प्रदेश सभाका उपसभामुख माथि आक्रमण हुँदा पनि प्रहरी मौन रहेको उहाँले बताउनुभयो । डीएपीको कमाण्डमा प्रहरी परिचालन हुँदा समेत आक्रमणकारीलाई नरोकेको भन्दै उहाँले निन्दा गर्नुभयो ।
एमालेका नेताहरूलाई पटक पटक एकै चिहान बनाउने प्रयास भएको उहाँले बताउनुभयो । एमाले माथि पटक पटक यो पुनरावृत्ति भएको उहाँले दाबी गर्नुभयो ।
भट्टराईले विराटनगरमा प्रदेशको नामाकरणको विषयमा भएको आन्दोलनमा एकजनाको ज्यान गएकोमा त्यो घटना प्रहरीको गोलीबाट भयो वा आन्दोलनकारीले नै हानेका लाठीले लागेर भयो ? त्यो सरकारले प्रष्ट पार्नुपर्ने उहाँले माग गर्नुभयो ।
एमाले नेताहरू कुन पार्टीका मानिसले आक्रमण गरे भन्ने एक एक भिडियो आफूहरूसँग सुरक्षित रहेको उहाँले बताउनुभयो । भट्टराईले सत्ता पक्षले एमालेसँग भिड्न चाहेको बताउनुभयो । एमालेका नेता कार्यकर्ताको सुरक्षा सरकारले दिन सक्दैन भने त्यसको सुरक्षा एमाले आफैँले गर्ने पनि उहाँले प्रष्ट पार्नुभयो ।
