काठमाडौं । प्रतिनिधि सभा सदस्य रघुजी पन्तले भारतको संसद्मा नेपाको कपिलवस्तु र लुम्बिनी समेत समावेश गरी राखिएको सांस्कृतिक भनिएको नक्सा प्रति आपत्ति जनाउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पन्तले भारतले त्यस विषयमा नेपालले चित्त बुझाएको भनि दिएको अभिव्यक्ति प्रति प्रधानमन्त्रीलाई प्रश्न गर्नुभएको छ । प्रधानमन्त्रीले भारत जाँदा सो विषयमा कुरा गरेको बताएको भने पनि भारतले नेपालले चित्त बुझाइसक्यो भनेर दिएको अभिव्यक्तिमा प्रधानमन्त्रीले जवाफ दिनु पर्ने पन्तले बताउनुभयो ।
भारतले त्यस्तो नक्सा आफ्नो संसदमा राख्छ भने नेपालले पनि नेपालको पुरानो नक्सा आफ्नो संसदमा राख्नु पर्ने उहाँले माग गर्नुभयो । ‘हामीले सतलजसम्म पुगेको हाम्रो सिमाना, रावी नदीको छेउसम्म पुगेको सिमाना, टिस्टा–काँगडालाई पनि सामेल गरेको नक्सालाई हाम्रो संसदमा भारतले आफ्नो त्यो नक्सा नहटाएसम्म हामीले पनि आफ्नो संसद्मा टाँग्दा के हुन्छ ?’, उहाँले प्रश्न गर्नुभयो ।
