काठमाडाैं । नेकपा एमालेका सांसद् महेश बस्नेतले भारतकाे अखण्ड नक्साबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय अधिकारीकाे कुरा बाझिएकाे भन्दै सत्यतथ्य जानकारी गराउन माग गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् बस्नेतले प्रधानमन्त्री प्रचण्डले भारतसँग कुरा गरेकाे बताउनुभएकाे तर भारतीय अधिकारीले नेपालका प्रधानमन्त्रीले कुनै कुरा नउठाएकाे बताएकाले कसकाे कुरा सत्य हाे भन्ने प्रष्ट हुनुपर्ने बताउनुभयाे ।
नेपालका प्रधामन्त्री प्रचण्डकाे भारत भ्रमणका क्रममा अखण्ड नक्साबारे कुनै कुरा नभएकाे भारतीय विदेश मन्त्रालयका अधिकारीले बताएका उहाँले बताउनुभयाे ।'भारतकाे नयाँ संसद् भवनमा राखिएकाे नक्साबारे भारतीय विदेश विभाग प्रवक्ता अरबिन्द बागिचीले याे दक्षिण एसियाकाे भित्ते चित्र भएकाे र यस विषयमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भ्रमणका क्रममा कुनै कुरा नभएकाे भन्ने उल्लेख गर्नुभएकाे छ । भारतीय विदेशीमन्त्री एस जयशंकरले नेपालले कुरा बुझिसक्याे अब विवाद हुँदैन, मित्र देश नेपाल र बंगलादेशले विवाद गर्नेछैनन्, याे केबल सांस्कृतिक विषय हाे यसलाई राजनीतिक विषय बनाउन जरुरी छैन भनेर पत्रकारसँग भन्नुभएकाे छ'- सांसद् बस्नेतले भन्नुभयाे ।
तर प्रधानमन्त्री प्रचण्डले यसबारे सबै कुरा उठाएकाे छु भनेर संसद्मा बाेल्नुभएकाे भन्दै उहाँले सत्य कुरा के हाे यसबारे प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने बताउनुभयाे । सांसद् बस्नेतले भन्नुभयाे - 'सत्य कुरा के हाे ? भारतले भनेकाे सत्य हाे कि प्रधानमन्त्रीज्यूले भन्नुभएकाे सत्य हाे ? याे स्पष्ट गर्न जरुरी छ, हामीले कुरा बुझेकाे भन्ने के हाे यसबारे पनि जवाफ चाहियाे ।'
