काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद् जर्नादन शर्माले विगत १० वर्षको बजेटको अध्ययन र समीक्षा गर्न प्रस्ताव गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा बाेल्दै सांसद् शर्माले बजेलाई देशको भविष्य र जनताको जीवनसँग सरोकार राख्ने बजेटलाई राजनीतिक चस्माबाट हेर्न नहुने बताउनुभयाे ।
आगामी आर्थिक वर्षकाे बजेटमाथिकाे छलफलमा बाेल्दा चालु आर्थिक वर्षकाे बजेटबारे भएका टिप्पणी पूर्वाग्रहपूर्ण रहेका भन्दै उहाँले आपत्ति जनाउनुभयाे । 'म आज सम्मानित सदनमा विगत १० वर्षको बजेटलाई समीक्षा गराैं भन्ने प्रस्ताव राख्न चाहन्छु, यसका लागि अर्थविद्, नागरिक समाज, पत्रकार, किसान, पूर्व न्यायाधीश, सम्बन्धित क्षेत्रको विज्ञ समेत भएको एउटा उच्चस्तरीय आयोग वा समिति बनाऔं, आवश्यक परे यसमा तटस्थ अन्तर्राष्ट्रिय अर्थविद्को पनि सहयोग लिऔं, ताकि सत्ता र प्रतिपक्षका आग्रह र पूर्वाग्रहबाट मुक्त भइ समस्या कहाँ छ पत्ता लगाउन सकियाेस्'- सांसद् शर्माले भन्नुभयाे ।
बजेट जनताकाे हितमा हुनुपर्ने भन्दै उहाँले बजेटकाे वस्तुनिष्ठ समीक्षा हुनुपर्ने बताउनुभयाे । बजेटमाथि बाेल्ने क्रममा चालु आर्थिक वर्षकाे बजेटकाे समीक्षा गर्दा पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले शून्य अंक दिनु सत्ताबाट विमुख हुनुपर्दाको पूर्वाग्रह र प्रतिशोधपूर्ण भएको आराेप समेत सांसद् शर्माले लगाउनुभयाे ।
बजेट १ वर्षका लागि आयव्य भएपनि याेजना र लक्ष्य दीर्घकालीन प्रकृतिका हुने उहाँले बताउनुभयाे । आफूले ल्याएकाे बजेटका परिणामहरु अहिले देखिँदै गएका र सबै सकारात्मक रहेका दाबी पनि सांसद् शर्माले गर्नुभयाे ।
