काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चीन भ्रमणमा जानुहुने भएकाे छ ।
तिब्बतको ल्हासामा आयोजना हुने पाँचौ चाईना तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोमा सहभागी हुन अध्यक्ष तिमिल्सना आज राति त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।
९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना राति १२.५ बजेको बेइजिङतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम छ । तिब्बतमा जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुनेछ ।
अध्यक्ष तिमिल्सिना नेतृत्वकाे प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्यहरु जीवन परियार, धवल शमशेर जंगबहादुर राणा, प्रदीप यादव तथा राष्ट्रिय सभाका सदस्यहरु उदयबहादुर बोहरा, दीपा गुरुङ र हरिराम चौधरी एवं अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद सचिवालयका उपसचिव रामहरि थापा सहभागी हुनुहुनेछ ।
भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिनाले बेइजिङमा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समिति (स्टाण्डीङ कमिटी अफ द नेशनल पिपुल्स कंग्रेस) का अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन (चाईनिज पिपुल्स पोलिटिकल कन्सुल्टेटिभ कन्फरेन्स) का अध्यक्ष वाङ हुनिङ संग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम समेत छ ।
भ्रमणको क्रममा प्रतिनिधिमण्डलले बेइजिङमा बाइदु ग्रुप, स्टेट ग्रिड कर्पोरेसन, संघाईमा साईयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, सांघाई योजना प्रर्दशनी केन्द्र लगायतका स्थलहरुको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।
औपचारिक भ्रमण सम्पन्न गरी अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डल २१ जुन २०२३ मा नेपाल आइपुग्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएकाे छ ।
