काठमाडौं । प्रतिनिधि सभा सदस्य दीपक गिरीले जसको पहुँच छ उसैको क्षेत्रमा बजेट जाने परम्परागत प्रवृत्ति अन्त्य हुनु पर्ने बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै गिरीले बजेट गठबन्धनकै ठुला नेताहरुकोमा बढी गएको भन्ने सुनिएकोले त्यसको जवाफ दिनु पर्ने बताउनुभयो । हरेक जिल्लाको न्यूनतम आवश्यकता र लक्ष के हो भन्ने तोक्न नसकेको कारण यो समस्या आएको गिरीले बताउनुभयो । आफू सत्ता पक्षको सांसद भए पनि सरकारले जे गर्यो त्यही सहन नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।
मुलुकमा सधैँ बजेट भाषण चार बजे हुनुको कारण आफूले पत्ता लगाएको उहाँले बताउनुभयो । जति बेला भारतमा ब्रिटिस सरकारकार थियो, त्यति बेला भारतको बजेट बेलुका चार बजे भनिने र त्यति बेला बेलायतमा बिहानको १० बज्ने भएकोले उनीहरूलाई सुन्न चार बजे बजेट ल्याएको उहाँले सुनाउनुभयो । त्यसबाट प्रभावित भएर चार बजे नै नेपालको बजेट ल्याउन आवश्यक नरहेको उहाँले बताउनुभयो । ‘बजेट चार बजे होइन अब १० बजे आउनु पर्यो’, उहाँले भन्नुभयो ।
गिरीले एउटा सांसदसँग नागरिकका धेरै अपेक्षा रहेको बताउँदै गिरीले त्यसलाई पुरा गर्ने काम धेरै चुनौतीपूर्ण रहेको बताउनुभयो । नागरिकले हरेके समस्या पर्दा सांसदलाई नै सम्झिने कुरा बुझिदिन उहाँले आग्रह गर्नुभयो ।
देश निर्माणको सवालमा सबै दल एक ठाउँमा उभिनु पर्ने उहाँले बताउनुभयो । सबैले इमानदार भएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद् क्षेत्र विकास कोषको रकम बाहेक कुनै पनि रकम समानुपातिक रूपमा वितरण नभएको उहाँले बताउनुभयो ।
