काठमाडाैं । पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पाैडेलले सरकारले देशकाे अर्थतन्त्रमा लागेकाे डढेलाे छाेप्ने प्रयास गरेकाे बताउनुभएकाे छ ।
आइतबार सकेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा बाेल्दै एमाले सांसद् पाैडेलले अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा आर्थिक मन्दीलाई ढाकछाेप गर्नुभएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे -'आर्थिक मन्दीलाई ढाकछाेप गरेर माननीय अर्थमन्त्रीज्यूले अर्थतन्त्रमा लागेकाे डढेलाेलाई छाेप्ने काेशिस गर्नुभएकाे छ ।'
बजेटले मन्दीमा पुगेकाे अर्थतन्त्रका समस्यालाई सामान्यीकरण गरेकाे भन्दै सांसद् पाैडेलले सरकारले लिएकाे पहलकदमीले अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेकाे भन्ने भ्रम छरिएकाे बताउनुभयाे । बजेटले अर्थतन्त्रमा देखा परेकाे जटिलतम परिस्थिति, समस्या र तिनीहरुका बीचकाे चिन्ताजनक अवस्थामा रहेका अन्तरसम्बन्धलाई पहिचान गर्न नसकेकाे उहाँले बताउनुभयाे ।
अर्थमन्त्रका सूचकले नै देश आर्थिक मन्दीमा गएकाे देखाएका सांसद् पाैडेलले बताउनुभयाे । उहाँले भन्नुभयाे -'पछिल्ला दुई आर्थिक वर्षका पहिलाे र दाेस्राे त्रैमासिककाे कुल ग्राहस्थ उत्पादकाे ऋणात्मक वृद्धिदर, आर्थिक क्रियाकलापमा संकुचन, राेजगारीका अवसरमा ठूलाे मात्रा ह्रास, आकाशिदाे मूल्यवृद्धि लगायत परिसूचकले नेपाली मन्दीकाे मारमा परेकाे छ भनेर देखाएकाे छ, तर बजेटले अर्थतन्त्रका यथार्थलाई स्वीकार गर्न सकेकाे छैन, अर्थतन्त्रकाे चुनाैतीलाई देख्न सकेकाे छैन, सामना गर्ने संकल्प गर्न सकेकाे छैन, अर्थतन्त्रलाई पुर्नजीवन दिन कुनै प्लान अघि सार्न सकेकाे छैन ।'
पुँजीबजारकाे अवस्थाले पनि देशकाे अर्थतन्त्रकाे अवस्था कहाँ छ भन्ने प्रष्ट पारेकाे सांसद् पाैडेलले बताउनुभयाे । चालु खर्च घटाउँछु भनेर बढाउने, पुँजीगत खर्च बढाउछु भनेर घटाउने बजेटकाे चरित्र रहेकाे उहाँले बताउनुभयाे ।
६ प्रतिशतकाे आर्थिक वृद्धिदरकाे लक्ष्य पूरा हुनै नसक्ने समेत सांसद् पाैडेलले बताउनुभयाे । बजेटले समाजवादकाे आधार तयार गर्ने संविधान निदृष्ट उद्देश्यसँग अहमति राखेकाे भन्दै उहाँले समाजवाद, समन्याय, राष्ट्रकाे समृद्धि र जनताकाे सुखलाई बेवास्ता गरेकाे बताउनुभयाे । समृद्ध नेपाल सुखी नेपालीकाे राष्ट्रिय आकांक्षा उच्चारण गर्नबाट बजेट विमुख भएकाे समेत सांसद् पाैडेलले बताउनुभयाे ।
