कठमाडौं । प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रम एकातिर र बजेट अर्कोतिर भएको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले देशको आर्थिक संकट समाधानको लागि लगानीका क्षेत्र पहिचान गर्नुपर्ने बताउनुभयो । ‘आर्थिक उत्पादनमा ध्यान नदिएर करको दायरा मात्र बढाएर नेपालको अर्थतन्त्रमा वृद्धि हुँदैन’, उहाँले भन्नुभयो ।
सरकारले ल्याएको बजेट असन्तुलित भएको उहाँले बताउनुभयो । बजेट पहुँचका आधारमा वितरण गर्ने र केन्द्रित गर्ने काम गरेको उहाँको भनाइ छ ।
अहिले मन्त्रीहरू अर्बका मालिक र सांसदहरू ५ करोडका मालिक भएका भन्दै उहाँले व्यङ्ग्य गर्नुभयो । कर्णालीमा डोकोमा बोकिने बिरामीले यसलाई गिल्ला गरेको उहाँको भनाइ छ । ‘अर्थमन्त्रीज्यूको नजर त्यहाँ किन परेन ?’, उहाँले प्रश्न गर्नुभयो ।
एकले अर्कालाई गाली गरेर आफू राम्रो हुन नसकिने तर्फ उहाँले सचेत गराउनुभयो । देशको हालत अहिले पनि उस्तै भएकोले मिलेर काम गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
