काठमाडाैं । सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका सांसद् महेन्द्रबहादुर शाहीले बजेटले देशकाे आर्थिक संकटलाई सम्बाेधन गर्न नसकेकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा बाेल्दै सांसद् शाहीले आर्थिक संकटलाई सम्बाेधन गर्न लगानीमा क्षेत्र पहिचान गर्नुपर्ने भएपनि बजेट त्यसमा चुकेकाे बताउनुभयाे ।
उहाँले बजेट र नीति तथा कार्यक्रमबीच तालमेल नदेखिएकाे बताउनुभयाे । 'सायद प्रधानमन्त्रीज्यू् र अर्थमन्त्रीबीच भेटघाट नभएकाे मैले अनुभूति गरेकाे छु, नीति तथा कार्यक्रम एकातिर बजेट अर्काेतिर भएकाे छ'- सांसद् शाहीले भन्नुभयाे ।
करकाे मात्रै दायरा बढाएर अर्थतन्त्रमा वृद्धि आउन नसक्ने भन्दै उहाँले बजेट विकेन्द्रित भएकाे बताउनुभयाे । बजेट सीमित ठाउँमा बजेट केन्द्रित भएकाे र असन्तुलित रहेकाे सांसद् शाहीले बताउनुभयाे ।
संघीयताकाे मूल मर्मलाई बजेटले सम्बाेधन गर्न नसकेकाे भन्दै सांसद् शाहीले मन्त्री भएकै ठाउँमा बजेट केन्द्रित भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'याे बजेट असन्तुलित र मन्त्रीकेन्द्रित छ, मन्त्री केन्द्रित बजेटले विकृति सृजना गर्छ, याे कुरालाई तत्काल सच्याइयाेस् ।' मन्त्रीहरुलाई अर्बाैं र सांसद्हरुलाई कराेडमा सीमित गर्नेगरी बजेट ल्याइएकाे समेत उहाँले बताउनुभयाे ।
कर्णाली र सुदूरपश्चिमलाई बजेटमा प्राथमिकता नदिइएकाे भन्दै उहाँले यसमा अर्थमन्त्रीले जवाफ दिन माग गर्नुभयाे ।
