काठमाडौं । पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद्हरुकाे अपमान गरेकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा बाेल्दै सांसद् पाैडेलले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद् विकास काेष) ब्यूँताएर अर्थमन्त्री महतले सांसद्हरुको अपमान गरेको बताउनुभयाे ।
आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दा सञ्चार माध्यम तथा जनस्तरको आलोचना र विगतको अनुभवबाट शिक्षा लिएर निर्वाचन क्षेत्र पूर्वाधार विसका कार्यक्रम रद्द गरेकाे उहाँले स्मरण गर्नुभयाे । सांसद् पाैडेलले भन्नुभयाे - 'यो बजेटले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा उक्त कार्यक्रम पुनः सुरु गरेको छ, माननीय अर्थमन्त्रीज्यू प्रत्येक निर्वाचन क्षेत्रका साथै समग्र देशको सन्तुलित विकासका लागि समन्यायीक मापदण्डका आधारमा बजेट विनियोजन गर्ने दायित्वबाट पन्छिनु भएको छ, सांसद्हरु समग्र देश र आफ्नो निर्वाचन क्षेत्रको समेत विकास प्रयासलाई मार्गदर्शन गर्ने सार्वभौम जनताका प्रतिनिधिहुनुहुन्छ भन्ने मान्यतालाई कमजोर पार्नु भएको छ ।'
सांसदहरुले प्रत्येक निर्वाचन क्षेत्र सहित समग्र देशको विकासका प्रश्नमा निर्णयाधिकार खोज्नुभएको हो भन्ने यथार्थलाई अर्थमन्त्री बेवास्ता गरेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । सांसद् पाैडेलले भन्नुभयाे - 'अर्थमन्त्रीज्यृले सांसद्हरुको भूमिकालाई ५ करोडमा अवमूल्यन गर्नु भएको छ, मैले त चाँहदैनथें तर बाध्य भएँ भनेर माननीय सदस्यहरुलाई अपमान गर्नु भएको छ, संघीय संसदका माननीय सदस्यहरुको माग प्रत्येक निर्वाचन क्षेत्र र समग्र देशको सन्तुलित र समन्यायीक विकास हो भन्ने यथार्थलाई छोप्न खोज्नु भएको छ ।'
आफूले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रका निमित्त संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा विनियोजन गरिएको ५ करोड बजेट सार्वजनिक शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा सम्बन्धित मन्त्रालय मार्फत खर्च गर्ने व्यवस्था गर्न समेत उहाँले अर्थमन्त्री महतलाई आग्रह गर्नुभयाे ।
