कठमाडौं । प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले नेपालको अर्थतन्त्रमा देखिएको समस्या तत्काल देखिएका समस्या नभई लामो समयको बेथितिले उब्जाएको समस्या भएको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै पौडेलले विगतको निरन्तरताले अर्थतन्त्रको पुनर्संरचना हुन नसक्ने बताउनुभयो । अर्थतन्त्रको तथ्याङ्कीय सूचकाङ्क निराशाजनक भएका उहाँले बताउनुभयो ।
नेपालको अर्थतन्त्र खराब हुनुको कारण अर्थमन्त्रीले भन्नुभए जस्तै कोभिड र युक्रेन युद्ध हो भन्ने निष्कर्षमा पुग्ने हो भने नेपालको अर्थतन्त्रमा सुधार गर्न नसकिने उहाँले बताउनुभयो । ‘यति मात्रै कारण होइन, यही मात्र निष्कर्ष निकाल्ने हो भने यो बजेटको लक्ष हासिल गर्न सकिँदैन’, उहाँले भन्नुभयो ।
उत्पादनमा जोड नदिनु, सुशासनमा नलाग्नु, भ्रष्टाचार व्याप्त हुनु, प्रविधिको प्रयोग गर्न नसक्नु नेपालको अर्थतन्त्र खराब हुनुको कारण भएको उहाँले बताउनुभयो । सरकारले विभिन्न चुनौती स्विकारे पनि त्यसलाई समाधान गर्ने कुरा बजेटमा नआएको उहाँले बताउनुभयो ।
सरकारले ल्याएको बजेटमा रूपान्तरणकारी नयाँ कार्यक्रम नआएका भन्दै उहाँले आलोचना गर्नुभयो । विद्यार्थीलाई दिवा खाजा खुवाउने बाहेक नयाँ कार्यक्रम आउन नसकेको उहाँले बताउनुभयो ।
सरकारले हरेक वर्ष उत्पादनमा जोड दिने भने पनि त्यो हुन नसकेको तर्फ उहाँले ध्यानाकर्षण गराउनुभयो । किसान अनेक समस्यासँग जुधिरहने भए पनि उसको राज्यसँग भेट तिरो तिर्ने बेला मात्र हुने उहाँले बताउनुभयो । बजेटले श्रम र शिक्षालाई जोड्न नसकेको भन्दै उहाँले आलोचना गर्नुभयो ।
बजेटले नेपालको विकास मोडल तयार गर्न नसकेको उहाँले बताउनुभयो । नेपालको विकास मोडल निर्धारण गर्न ढिलो भइसकेको उहाँको भनाइ छ ।
