काठमाडाैं । नेपाली कांग्रेसका सांसद् प्रदीप पाैडेलले बजेटमा नयाँ कुरा खासै केही नआएकाे बताउनुभयाे ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा बाेल्दै सांसद् पाैडेलले बजेट सन्तुलित नदेखिएकाे बताउनुभयाे । बजेटबारे सांसद्हरूले दिएको सुझावलाई सम्बोधन गर्ने विधिबारे सदनलाई जानकारी गराउन उहाँले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग माग गर्नुभयाे ।
'प्रधामन्त्रीज्यूले नीति तथा कार्यक्रममा उठेका विषयलाई बजेटमा समावेश गरिनेछ भन्नुभएकाे थियाे, म अर्थमन्त्रीलाई अनुराेध गर्न चाहान्छु - 'हामीले छलफलमा उठाएका विषयलाई तपाइँले बजेटमा कसरी समावेश गर्नुहुन्छ? संसद्लाई स्पष्ट गराइदिनुहुन अनुराेध गर्दछु'-सांसद् पाैडेलले भन्नुभयाे ।
देशकाे अर्थतन्त्र गम्भीर अवस्थामा पुगेकाे भन्दै उहाँले बजेटले यसलाई राम्राेसँग सम्बाेधन गर्न नसकेकाे बताउनुभयाे । सांसद् पाैडेलले बजेटले कृषि क्षेत्रकाे चुनाैतीलाई पहिचान गर्न नसकेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'एउटा किसान वाँदर आतंकदेखि जलवायु परिवर्तनसम्मका अनगिन्ती समस्यासँग जुधिरहेकाे हुन्छ, तर उसका राज्यसँगकाे भेट तिराे तिर्ने बेलामा मात्र हुन्छ, यस्ताे अवस्था रहिरहने हाे भने सरकारले अघि सारेका कार्यक्रम कसरी पूरा हुन्छन् ?'
बजेटले श्रम र शिक्षालाई व्यवहारिक रुपमा जाेड्न नसकेकाे भन्दै सांसद् पाैडेलले नागरिक पेन्सनकाे स्राेत र कार्यविधिबारे प्रष्ट पार्नुपर्ने बताउनुभयाे ।
बजेटमा केही सकामत्मक कार्यक्रम रहेकाे पनि उहाँले बताउनुभयाे । सरकारी कार्यालयका कर्मचारी सबैले स्वदेशी उत्पादन प्रयाेग गर्न अनिवार्य गराइनुपर्ने बताउनुभयाे । अनुदानलाई वास्तविक कृषकसम्म पुर्याउने लगायत भनिने तर कहिल्यै नगरिने कार्यक्रमलाई बजेटमा निरन्तरता दिइएकाे सांसद् पाैडेलले बताउनुभयाे ।
लगानीका लागि सुरक्षित वातावरणकाे ग्यारेन्टी सरकारले गर्ने उहाँले बताउनुभयाे । बजेटले नेपाल कुन माेडेलबाट विकासकाे बाटाे समात्दैछ भन्ने प्रष्ट गर्न नसकेकाे सांसद् पाैडेलले बताउनुभयाे । 'अबकाे यात्राकाे ट्रयाक खाेल्न धेरै ढिलाे भइसकेकाे छ'- उहाँले भन्नुभयाे ।
