काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार ढल्न सक्ने बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीका जिज्ञासाकाे जवाफ दिँदै अध्यक्ष नेपालले सरकारले बजेट नसच्याए सरकार दुर्घटनामा पर्न सक्ने बताउनुभयाे ।
बजेटमा सबै असन्तुष्ट रहेकाे भन्दै उहाँले सांसद्हरुका सुझावप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महत लचक हुनुपर्ने बताउनुभयाे । 'याे बजेटप्रति साथीहरू सबै अत्यन्तै असन्तुष्ट, अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन, यो विषय मरेको छैन, तर यही पाराले जाने हो भने सरकार दुर्घटनातिर जान्छ कि भन्ने डर पनि लाग्छ, मुलुक त भन्दिन सरकार दुर्घटनामा जान सक्छ'- अध्यक्ष नेपालले भन्नुभयाे ।
यस विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग आफूले कुरा गर्न खाेजेपनि कुरा हुन नसकेकाे भन्दै अध्यक्ष नेपालले यथास्थितिमा बजेट पारित हुन नदिन आफूले प्रयास गरिरहेकाे दाबी गर्नुभयाे । 'सरकार दुर्घटनामा नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, चित्त बुझाउनुपर्छ, बेठिक भएको कुरालाई सच्याउनुपर्छ, मेरो पनि प्रयास छ, सबैले लचकता देखाऔं'- उहाँले भन्नुभयाे ।
अहिलेकाे सरकार ५ वर्ष टिक्नुपर्ने भएकाले ढल्न दिन नहुनेमा आफूहरु गम्भीर रहेकाे अध्यक्ष नेपालले बताउनुभयाे ।
