काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले अहिलेकाे गठबन्धन सरकार देश र जनताका लागि नभएर विचाैलियाका लागि मात्रै बनेकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा बाेल्दै प्रमुख सतेक गिरीले सरकारले ल्याएकाे बजेटले यसकाे पुष्टि गरेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'याे गठबन्धन देशकाे निम्ति जनताकाे निम्ति हाेइन,विचाैलियाका निम्ति हाे, निश्चित घरानाका निम्ति याे सरकार बनेकाे हाे भन्ने यसले पुष्टि गरेकाे छ ।'
बजेट निर्माणमा विचाैलियालाई प्रवेश गराउने र करकाे दर हेरफेर गर्ने काम भएकाे भन्दै कुरा उठाउँदा एमालेलाई लक्षित गरेर जनतामा भ्रम पार्न खाेजिएकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । प्रमुख सचेतक गिरीले भन्नुभयाे - 'हामी गठबन्धनको सरकारबाट फागुनको १५ गते हट्यौं, फागुनको १९ गते अहिलेको गठबन्धन सरकारले पूर्व कर्मचारीलाई नियुक्ति दिने निर्णय गरेको छ, फागुनको २३ गते नियुक्तिपत्र थमाइएको छ, अनि एमालेतिर लक्षित गरेर जनतामा कुप्रचार हुन्छन्, जनतालाई भ्रममा पार्न पाइँदैन, त्यस्तो काममा हाम्रो गम्भीर आपत्ति छ ।'
अहिलेकाे गठबन्धनकै कारण देशकाे अर्थतन्त्र ध्वस्त भएकाे भन्दै उहाँले गठबन्धनलाई सरकारमा बस्ने नैतिकता नरहेकाे बताउनुभयाे । गठबन्धन सरकारले ६ प्रतिशतकाे आर्थिक वृद्धिदर हासिल गर्ने भनेपनि अहिले २ प्रतिशतले आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने अवस्थामा पुगेकाे बताउनुभयाे । उहाँले प्रश्न गर्नुभयाे - 'यसकाे नैतिक जवाफ कसले दिने हाे ? यसकाे जवाफदेहिता सरकारसँग हुनुपर्छ कि पर्दैन ।'
गठबन्धन सरकारले १४ खर्ब राजश्व परिचालन गर्ने लक्ष्य निर्धारण गरेपनि आजसम्म साढे ८ अर्ब पनि राजश्व संकलन हुन नसकेकाे बताउँदै प्रमुख सचेतक गिरीले भन्नुभयाे - 'असार मसान्तसम्म केही भए १० खर्ब बढी जान सक्दैन, यसले के देखाउँछ भने सरकार याे कुरामा सम्पूर्ण रुपमा असफल भएकाे हाेकि हाेइन ? यसकाे नैतिक जिम्मेवारी याे सरकारले लिनुपर्छ कि पर्दैन ? याे सरकारकाे असक्षमता देश दुनियालाई थाहा हुनुपर्छ कि पर्दैन ?'
लक्ष्य भन्दा ३४-३५ प्रतिशत राजश्व किन उठ्न गयाे भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयाे - 'यहाँ रुस र युक्रेन युद्धका कारण, विश्वमा आर्थिक मन्दी भएर भनेर जनतालाई ढाँट्न सकिएला, मुख्य कारण अर्कैछ, आज भन्सारहरुमा विचाैलियाकाे हावी भएकाे छ, गृह र अर्थमन्त्रालयका उच्च तहका कर्मचारी राजश्व चुहावट गर्ने काममा ठूलाे सेटिङमा लागेका बताउनुभयाे ।'
भन्सार छलीमा सरकारका मान्छे लागेका र त्यसबाट अर्बाैं हानी भएर देश आज याे अवस्थामा पुगेकाे तर यसतर्फ कसैकाे ध्यान नपुगेकाे प्रमुख सचेतक गिरीले बताउनुभयाे । देशकाे अर्थतन्त्रकाे अवस्थाबारे सदनलाई चित्त बुझ्नेगरी जनतालाई चित्त बुझ्नेगरी जवाफ दिन नसके सरकारमा बस्न नसुहाउने उहाँले बताउनुभयाे । प्रमुख सचेतक गिरीले भन्नुभयाे - 'याे सरकारले आफ्नाे असक्षतालाई हेर्नुपर्याे, आफ्नाे अयाेग्यतालाई बुझ्नुपर्याे, यदि यसलाई सदनलाई जनतालाई चित्तबुझ्नेगरी जवाफ दिन नसक्ने हाे भने नैतिक रुपले याे गठबन्धन सरकारमा रहने हैसियत छैन ।'
शिक्षक-कर्मचारी, सेना-प्रहरीलाई तलब दिन नसकेकाे अवस्था रहेकाे भन्दै उहाँले १६० अर्ब सञ्चित काेष घाटामा गइसकेकाे भन्दै उहाँले यसबारे सरकारले जवाफ दिनुपर्ने बताउनुभयाे ।
